हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ साउन । स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्दै ग्राहकलाई एकै स्थानबाट दूरसञ्चार सेवा र मोबाइल डिभाइस उपलब्ध गराउने उद्देश्यसहित एनसेलले महेन्द्रनगरमा नयाँ अवधारणाको फ्रान्चाइज ओन्ड, फ्रान्चाइज अपरेटेड (फोफो) एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।
महेन्द्रनगर बजारमा रहेको मदनचोकस्थित सेन्टरको बिहीबार आयोजित विशेष समारोहबीच भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उद्घाटन गरे । उद्घाटनपछि उनले स्थानीय स्तरमै गुणस्तरीय सेवा विस्तार हुनु सकारात्मक भएको उल्लेख गर्दै यसबाट कञ्चनपुरका सेवाग्राहीले थप सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे । "हालसालै भारत जाँदा पनि एनसेलको रोमिङ सेवा निकै प्रभावकारी पाएँ । अब महेन्द्रनगरमै यस्तो आधुनिक सेवा केन्द्र सञ्चालनमा आउनु स्थानीयका लागि खुसीको विषय हो," उनले भने ।

'लोकल्ली ओन्ड, पावर्ड बाइ एनसेल' भन्ने अवधारणामा सञ्चालनमा आएको यो सेन्टरबाट ग्राहकहरूले सिम कार्ड परिवर्तन, ई-सिम एक्टिभेसन, केवाईसी अद्यावधिक, बिल भुक्तानी, नयाँ सिम तथा अन्य सम्पूर्ण ग्राहक सेवा लिन सक्नेछन् । साथै मोबाइल फोन र विभिन्न मोबाइल एसेसरी पनि यहीँबाट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । एनसेलका अनुसार नयाँ अवधारणाले ग्राहकलाई 'वन-स्टप सोलुसन' प्रदान गर्ने लक्ष्य राखिएको छ, जहाँ दूरसञ्चार सेवा र डिभाइस दुवै एउटै स्थानमा उपलब्ध हुनेछन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलकी कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले स्थानीय साझेदारसँग सहकार्य गर्दै सेवा विस्तार गरिएको बताइन् । "हामी सधैँ स्थानीय व्यवसायीसँग सहकार्य गर्दै आएका छौँ । यही सम्बन्धलाई अझ बलियो बनाउँदै समुदायसँग नजिकिन फोफो अवधारणा सुरु गरेका हौँ । अब ग्राहकले सेवा मात्र होइन, मोबाइल डिभाइसदेखि आवश्यक एसेसरीसम्म एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्," उनले भनिन् ।

त्यस्तै एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले नेपाली बजारप्रतिको कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाउन नयाँ अवधारणा अघि सारिएको बताइन् । उनका अनुसार स्थानीय व्यवसायीसँग साझेदारी गर्दै ग्राहकसम्म अझ नजिकबाट सेवा पुर्याउने रणनीतिअन्तर्गत देशका विभिन्न स्थानमा यस्ता सेन्टर विस्तार गरिनेछ ।
कार्यक्रममा भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीलगायत स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा एनसेलका अधिकारीहरूको उपस्थिति रहेको थियो । एनसेलले एक दिनअघि मात्रै धनगढीमा पहिलो फोफो सेन्टर सञ्चालनमा ल्याएको थियो ।

कम्पनीका अनुसार आगामी दिनमा पनि स्थानीय साझेदारीलाई प्राथमिकता दिँदै देशका अन्य शहरमा यस्ता सेन्टर विस्तार गरिनेछ । नयाँ स्टोरमार्फत ग्राहकले कम्पनीका नवीनतम सेवा, मोबाइल एपमा आधारित योजना तथा अफरबारे समेत प्रत्यक्ष जानकारी लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।