हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरीले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा सीमा सुरक्षा गुल्म मुख्यालय बेलौरीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बहादुर बस्नेतलाई उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकन गर्दै सम्मान गरेको छ । शुक्लाफाँटा नगरपालिका ५ स्थित गणको मुख्यालयमा सोमबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीको प्रमुख आतिथ्यमा बस्नेतलाई नगद सहित प्रशंसापत्र प्रदान गरिएको हो ।
प्रशंसापत्रमा सीमा सुरक्षा गुल्म बेलौरीको गुल्मपतिका रूपमा कार्यरत रहँदा सरोकारवाला निकायसँग उत्कृष्ट समन्वय गर्दै विपद् व्यवस्थापन, लागूऔषध तथा अवैध चोरीपैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ । साथै समुदायस्तरमा विपद् व्यवस्थापन जनशक्ति उत्पादन तथा 'सीमाबासीसँग सशस्त्र प्रहरी' कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सम्मान गरिएको जनाइएको छ ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले संगठनमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराले जिम्मेवारीबोध, व्यावसायिकता र सेवाप्रतिको समर्पण अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकको सुरक्षा, सीमा संरक्षण र विपद् व्यवस्थापनमा उत्कृष्ट योगदान दिने सशस्त्र प्रहरी कर्मचारीलाई संगठनले सदैव प्रोत्साहन गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले उच्च अनुशासन, इमान्दारिता र समर्पणका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट कार्य गर्ने कर्मचारीको सम्मानले अन्य सुरक्षाकर्मीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
सम्मानित सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बहादुर बस्नेतले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मेहनत र समन्वयको प्रतिफलका रूपमा लिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सीमा सुरक्षा, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण तथा समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।