हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ पुस । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्यको धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ । उक्त धारामा “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर कानुन बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।” भनी उल्लेख गरिएको छ ।
राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले व्यवस्थापिका–संसद्ले सूचनाको हक सम्बन्धी ऐन, २०६४ समेत बनाएको छ ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को परिच्छेद २ सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्थाको दफा १ ले समेत प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने कुरा स्पष्ट पारेको छ । ऐनको दफा ६ मा हरेक सार्वजनिक निकायमा ऐन बमोजिम कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गरेको हुनु पर्नेछ भनिएको छ । सूचना प्रवाह गर्ने प्रयोजनका लागि कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रूपमा सूचना अधिकारीलाई उपलब्ध हुने व्यवस्था गराउनु पर्ने छ भनी उल्लेख भएकोले कार्यालय सम्बन्धी सबै सूचनाहरू प्राप्त गर्नका लागि आवश्यक व्यवस्था, संयन्त्र मिलाउने कार्य समेत सूचना अधिकारीको कार्यालय प्रमुखसँग समन्वय गरी मिलाउने कार्य जिम्मेवारीभित्र पर्दछ । यसका लागि ऐनको दफा ६ को उपदफा (३) मा उल्लेख भए बमोजिम अलग सूचना शाखाको समेत व्यवस्था गर्न सक्ने व्यवस्था छ ।
केही स्थानीय तहहरूमा सूचना अधिकारी नतोकेको थाहा पाएपछि गत वर्ष असार ११ गतेका दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई पत्राचार गर्दै अविलम्ब सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा राख्ने व्यवस्था गर्न आदेश समेत दिएको थियो । तर, कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा सूचना अधिकारीको व्यवस्था नै गरिएको छैन । नगरपालिका कार्यालयमा यसअघि भने नियमित रूपमा सूचना अधिकारीको व्यवस्था गरिएको थियो । यसअघि बेलौरी नगरपालिका कार्यालयमा लामो समयसम्म सुशीला लेखक सूचना अधिकारीको जिम्मेवारीमा रहनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीको अन्यत्र सरुवा भएपछि सुशीला लेखकले नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भयो । त्यस बखत पनि लेखकले सूचना अधिकारीको समेत जिम्मेवारी बहन गर्नु भएको थियो । असोज महिनामा लेखकको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा सरुवा भएपछि बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु भएका नर बहादुर विकले कार्यभार सम्हाले यता बेलौरी नगरपालिका कार्यालयको सूचना अधिकारी को हो भन्ने विषयमा अनविज्ञता देखिएको छ ।
नेपालको संविधानले मौलिक हक र कर्तव्यका रूपमा व्यवस्था गरेको सूचनाको हक माग्न आउने जो कोही नागरिकले पनि सूचना अधिकारीबाट पाउनु पर्ने सूचना माग गर्न नसक्ने अवस्था रहेको छ । ऐन बमोजिम हरेक सार्वजनिक निकायले आफ्नो कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरेकै हुनुपर्छ । कार्यालयमा सूचना अधिकारीको व्यवस्था नभएको अवस्थामा कार्यालय प्रमुखलाई नै सम्बोधन गरी पेस गरिएका निवेदनको सुनुवाइ हालसम्म भएको छैन । यस्तो अवस्थामा प्रक्रियागत ढङ्गबाटै जानुपर्दा पहिलो पटक त सूचना अधिकारीलाई नै सम्बोधन गरी निवेदन पेस गर्नु पर्ने देखियो । सूचना अधिकारी समक्ष नै हो, आम नागरिकले आफ्नो र सार्वजनिक सरोकारका विषयमा सूचना माग्न सबैभन्दा पहिला निवेदन पेस गर्ने पनि । तर कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरिएको छैन भने त्यस्तो निवेदन कसलाई पेस गर्ने ? व्यावहारिक जवाफ हुन सक्छ, कार्यालय प्रमुख समक्ष । तर यो व्यावहारिक जवाफले समेत काम गर्दैन, बेलौरी नगरपालिका कार्यालयमा ।
एक ताजा भोगाइ ।।
शुक्रबार मध्यान्ह त्यस्तै भयो । बेलौरीमा क्रियाशील पाँच जना पत्रकारहरूले सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित अध्ययन तथा रिपोर्टिङ प्रयोजनका लागि सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने बारे सात बुँदे संयुक्त निवेदन तयार गरी बिहान ११ बजे नगरपालिका कार्यालयमा पुग्दा त्यहाँ सूचना अधिकारीको विषयमा अनविज्ञता र कार्यालय प्रमुख अन्यत्र कार्यक्रममा गएको जानकारी प्राप्त भयो । नगरपालिकाको पुरानो सभा हलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक कार्यक्रम चलिरहेकोले त्यहाँ कार्यालय प्रमुखलाई भेटाउन सकिन्छ कि भन्दै उक्त टोली त्यहाँ पुग्यो । तर त्यहाँ पनि नभेटेपछि बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा लक्षित वर्गलाई न्यानो कम्बल वितरण कार्यक्रम रहेको र कार्यालय प्रमुख समेत त्यही रहेको जानकारी पाएपछि पत्रकारहरूको टोली त्यही कार्यक्रम स्थलमा पुग्यो ।
कार्यक्रमको औपचारिक समारोह सकिएसँगै वडा कार्यालयकै भवन भित्र प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकलाई संयुक्त निवेदन पेस गर्न खोज्दा सूचना अधिकारीसमक्ष पेस गर्नुपर्ने निवेदन आफूले नबुझ्ने उहाँले प्रतिक्रिया दिनुभयो । कार्यालय प्रमुखलाई दिनु पर्ने निवेदन भएमा कार्यालयमै उपस्थित भएर दिनुपर्ने प्रतिक्रिया थियो । तर उहाँलाई कार्यालयमै पत्र बुझाउन गएको उक्त टोलीले कार्यालयमा नभेटेपछि खोज्दै खोज्दै वडा कार्यालयको कार्यक्रममा भेटेको थियो । संयुक्त टोलीले बेलौरी नगरपालिका कार्यालयको सूचना अधिकारी को हो त भन्ने जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत भने केही बेर अनुत्तरित रहनु भयो । तर पत्रकारको टोलीले कार्यालयमा सूचना अधिकारीको व्यवस्था नहुँदा कार्यालय प्रमुखले नै सूचना अधिकारीको भूमिका निर्वाह गर्नु पर्ने भनेपछि उहाँको जवाफ थियो, “नाइँ म होइन के, म तोक्ने अर्कोलाई हो । ऊ ले नबुझेर राख्दिएछ ।” अनि पत्रकारको आखिरी प्रश्न थियो, “कहिले तोकिन्छ, तोकिन्छ चाहिँ कहिले ?” अन्तिममा प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक भन्नुहुन्छ, “चिठ्ठी अस्ति बना हो, त्याँ हरि जीलाई । बिरामी रैछन्, त्यही भएर अड्क्या अड्क्यै ।”