हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ वैशाख । सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र समयमै पूर्वतयारी सुनिश्चित गर्न ‘पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजना औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरका पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा परियोजना शुभारम्भसँगै समुदायस्तरमै पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा डिजिटल वित्तीय साक्षरतामा आधारित गतिविधिहरू अघि बढाइने भएको छ ।

पुनर्वास र लालझाडीमा परियोजना सम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरिएको छ । पुनर्वास नगरपालिकामा नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षता आयोजना गरिएको कार्यक्रममा वडाध्यक्षहरू, शाखा प्रमुखहरू, संघसंस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । त्यस्तै बिहीबार लालझाडी गाउँपालिकामा आयोजना भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष निर्मल रानाले गर्नुभएको थियोे । सो कार्यक्रममा उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, रेडक्रस, एनएनएसडब्लुए, मर्सिकोरका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण लालझाडीका विपद् व्यवस्थापन शाखा प्रमुख हेमराज उपाध्यायले गर्नुभएको थियो ।

परियोजना संयोजक देवराज बडुका अनुसार सान परियोजनाले विपद् आउनुअघि नै पूर्वसूचना प्रवाह, जोखिम मूल्यांकन, पूर्वतयारी उपकरण वितरण र समुदायको सशक्तिकरणमा जोड दिने छ । यसले संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई बलियो बनाउँदै दीगो सामाजिक सुरक्षातर्फ उन्मुख गराउने लक्ष्य लिएको छ । संयोजक बडुले दुवै पालिकाहरूमा परियोजनाको उद्देश्य र कार्यविधिबारे प्रष्ट पार्दै जातीय विभेदमा परेका, अपांगता भएका र पछाडि पारिएका समुदायहरूलाई लक्षित गरी पूर्वकार्य अघि बढाइने जानकारी दिनुभयो ।

पुनर्वास र लालझाडीमा मर्सिकोर र रूमसन एसोसिएट्सको सहकार्यमा B4A (Forecast-Based Action) परियोजना समेत प्रारम्भ गरिएको छ । ब्लकचेन प्रविधिको प्रयोग गरी राहत प्लेटफर्म निर्माण, SMS र भ्वाइस मेसेजमार्फत पूर्वसूचना प्रवाह, डिजिटल भौचर प्रणालीमार्फत नगद सहयोगको प्रभावकारी व्यवस्थापन गरिने बताइएको छ । उक्त परियोजना MERCY CORPS VENTURE को आर्थिक सहयोगमा सञ्चालनमा आएको हो । परियोजनाले पालिकाको विपद् व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री, छरितो र पारदर्शी बनाउने लक्ष्य लिएको रुमसन एसोसिएट्सका सिनियर कम्युनिटि कोडिनेटर अच्युत सुवेदीले बताउनु भयो ।

कार्यक्रम समापनका क्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले लालझाडीको विकासका लागि थुप्रै संघसंस्थासँग साझेदारी गरिरहेको उल्लेख गर्दै आगामी दिनहरूमा समेत विकास साझेदार संस्थाहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनका क्षेत्रमा विकास साझेदार संस्थाहरू अझ बढी महत्त्वपूर्ण भूमिका हुने बताउँदै सान परियोजनाको सफल कार्यान्वयनका लागि शुभेच्छा व्यक्त गर्नुभयो ।