हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असोज । देशभरि बडादशैँको उल्लास छाएको छ । तर, कञ्चनपुरका विपिन जोशीको परिवारका लागि यो दशैँ पनि पीडादायी नै बनेको छ । लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका विपिन सन् २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा रहनु भएको छ । इजरायल–हमास युद्ध सुरु भएको पहिलो दिनमै विपिनलाई हमासले अपहरण गरेर लगेको थियो । त्यसयता जोशी परिवारले तीन वटा दशैँ र दुई वर्षका सबै चाडपर्व निराशामै बिताउन बाध्य हुनु परेको छ ।
विपिनका बुबा महानन्द जोशी छोराको प्रतीक्षामा हुनुहुन्छ । तर, समय बित्दै जाँदा पीडा मात्र बढ्दै गएको उहाँको भनाइ छ । अहिले आमा र बहिनी अमेरिकामा रहनु भएको छ, विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय तहमा पहल बढाउन । केही महिनाअघि उहाँहरू युद्धग्रस्त क्षेत्र इजरायलमै पुगे पनि छोराको रिहाइ सम्भव नभएपछि निराश भएर फर्किनु परेको थियो । अहिले पनि परिवारले अन्तर्राष्ट्रिय तथा मानवअधिकार संस्थासँग निरन्तर समन्वय गरिरहेको छ ।
उता, इजरायल र हमासबीच वार्ताका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल भइरहेको छ । अमेरिकी पक्षले हालै २० बुँदे प्रस्ताव अघि सारेको छ, जसमा बन्धक रिहा गर्ने, गाजामा अस्थायी प्रशासन गठन गर्ने र चरणबद्ध युद्ध विराम गर्ने प्रावधान रहेको छ । कतारसहितका मुलुकले यसबारे हमाससँग वार्ता गरिरहे पनि अन्तिम निर्णय भइसकेको छैन । अमेरिकाले भने ३-४ दिनभित्र जवाफ दिनुपर्ने दबाब दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ र G7 राष्ट्रहरूले समेत दुवै पक्षलाई तत्काल मानवीय सङ्कट अन्त्य गर्न बन्धक रिहाइ र युद्ध विराममा सहमत हुन आग्रह गरेका छन् ।
विपिनको रिहाइका लागि युद्धग्रस्त इजरायलसहित विभिन्न मुलुकमा दबाबमूलक कार्यक्रम भइरहेका छन् । तर, नेपाल सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसक्दा अहिलेसम्मका प्रयास सबै विफल भएका विपिनको परिवारको गुनासो छ । हालै बनेको नयाँ सरकारका प्रधानमन्त्रीलाई समेत भेटेर परिवारले छोराको रिहाइमा पहल गरिदिन आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय तहमा पहल बढ्दै जाँदा जोशी परिवारमा फेरि आशा जागेको छ । विपिन सकुशल स्वदेश फर्किने दिन छिट्टै आउने विश्वास परिवारले लिएको छ ।
तर, त्यसका लागि नेपाल सरकारले पनि अब ढिलाइ नगरी सम्भावित सबै कूटनीतिक प्रयासहरू तत्काल अघि बढाउन आवश्यक देखिन्छ । जबसम्म विपिन जस्ता नेपाली नागरिक सुरक्षित फर्किँदैनन्, तबसम्म दशैँको खुसी यस्ता घरमा आउन सक्दैन ।