बिकास सिंह महता, कञ्चनपुर, २४ कार्तिक । कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिकामा राष्ट्रिय स्तरको एन्फा फुटबल रेफ्री प्रशिक्षण तालिम भएको छ । कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग र दोधाराचाँदनी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको एक हप्ते आवासीय रेफ्री प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको हो । जिल्ला फुटबल संघको अथक प्रयासमा सम्पन्न उक्त तालिमको समापन कार्यक्रम दोधाराचाँदनी नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो । कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको सभापतित्व र नगर प्रमुख किशोर कुमार लिम्बूको प्रमुख आतिथ्य रहेको थियो ।

जिल्ला फुटबल संघका महासचिव नितेश रावलका अनुसार, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका प्रशिक्षार्थी सहभागी भएको उक्त तालिममा ४ जना महिला र ३० जना पुरुष गरी ३४ जनाको सहभागिता रहेको थियो । तालिम कार्तिक १८ गतेदेखि २४ गतेसम्म लक्ष्मी माध्यमिक विद्यालय बाबाथान लगायतका मैदानहरूमा सात दिनसम्म सञ्चालन गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का रेफ्री टेक्निकल प्रशिक्षक फिफा पूर्व रेफ्री सचिन अमात्य, फिफा सहायक पूर्व रेफ्री रोजन श्रेष्ठ र शैलेश जोशीले प्रशिक्षण प्रदान गरेका थिए ।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले नगरपालिकामा खेलकुद विकासका लागि महत्वपूर्ण आवासीय फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भने, "दोधाराचाँदनीमा पहिलो पटक राष्ट्रिय स्तरको फुटबल रेफ्री प्रशिक्षण तालिम सम्पन्न हुनु गर्वको विषय हो । यसले स्थानीयस्तरमा खेलकुद विकासमा ठुलो टेवा पुर्याउनेछ ।"

त्यस्तै, जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले रेफ्री अभावका कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुँदै आएको बताउँदै भने, "हामीले निरन्तर प्रयासपछि तालिम सम्पन्न गर्न सफल भएका छौँ । अब रेफ्री अभावका कारण खेल प्रतियोगिता सञ्चालनमा असहजता आउने छैन ।" संघका अनुसार, आगामी महिना फुटबल प्रशिक्षक प्रशिक्षण तालिम समेत सञ्चालन गर्ने तयारी भइरहेको छ ।
