विकास सिंह महता / हरिश्चन्द्र बाग , कञ्चनपुर, १३ असार । कञ्चनपुरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद संस्थाको व्यवस्थापन सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुर जिल्ला फुटबल संघलाई खेलकुद सामग्री तथा कार्यालय प्रयोजनका फर्निचर हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालय, कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत शनिबार साँझ आयोजित विशेष कार्यक्रममा फुटबल संघलाई आवश्यक खेल सामग्री तथा कार्यालय व्यवस्थापनमा उपयोग हुने फर्निचर हस्तान्तरण गरेको हो ।

महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित कार्यक्रममा बोल्दै कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले सरकारी सहयोगले जिल्लामा फुटबल गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक वर्षको स्वीकृत योजना अन्तर्गत संघलाई प्राप्त सामग्रीले नियमित प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा प्रशासनिक व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । “यो सहयोगले संघलाई मात्र होइन, समग्र जिल्लाका खेलाडी र फुटबल प्रेमीहरूलाई उत्साहित बनाएको छ । अब खेल गतिविधि अझ व्यवस्थित ढंगले सञ्चालन गर्न सहज हुनेछ,” महासचिव रावलले भन्नुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष रमेश चन्दले खेलकुदमा गरिएको लगानीलाई युवामा गरिएको लगानीको रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले खेलकुद सामग्री र फर्निचर सहयोगले खेलाडीको क्षमता विकाससँगै संघको संस्थागत संरचना बलियो बनाउन ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फुटबल खेल मात्र होइन, अनुशासन, नेतृत्व र अवसर निर्माण गर्ने माध्यम पनि हो । यस्तो सहयोगले जिल्लामा लुकेका प्रतिभालाई उजागर गर्न मद्दत पुग्छ ।” उपाध्यक्ष चन्दले कञ्चनपुरमा फुटबलप्रतिको आकर्षण उच्च रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायबाट निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले खेलकुद क्षेत्रलाई विकासको महत्वपूर्ण आधारस्तम्भको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ डोर्याउने र समाजमा अनुशासन तथा प्रतिस्पर्धी भावना विकास गर्ने उल्लेख गर्नुभयो । “आजका युवालाई कुलतबाट बचाउने प्रभावकारी माध्यम खेलकुद हो । राज्यले खेल पूर्वाधार र प्रतिभा विकासमा निरन्तर लगानी बढाउनुपर्छ,” पूर्व मुख्यमन्त्री रावलले भन्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले स्थानीय खेल संघसंस्थाहरूलाई सक्षम बनाउँदै खेलाडी उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । “खेलकुदमा अवसर पाए युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन सक्छन् । त्यसका लागि स्थानीय तहदेखि नै बलियो आधार निर्माण आवश्यक छ,” मन्त्री सार्कीले बताउनुभयो ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुशील कुमार भट्टले खेलमैत्री वातावरण निर्माणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुदलाई सामुदायिक विकास र सामाजिक एकताको माध्यमका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । हस्तान्तरण कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका कार्यसमिति पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सरकारी स्तरबाट प्राप्त यस्तो सहयोगले स्थानीय तहमा खेल संस्कृतिको प्रवर्द्धन, प्रतिभा पहिचान तथा युवालाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । कञ्चनपुर जिल्ला फुटबल संघले प्राप्त खेल सामग्री तथा फर्निचरको अधिकतम सदुपयोग गर्दै जिल्लाको फुटबल विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता समेत जनाएको छ ।