प्रकाश भट्ट / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ असार । कञ्चनपुरमा पहिलो पटक सञ्चालन गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) कम्युनिटी कोर्स प्रशिक्षणबाट सुदूरपश्चिम प्रदेशले ४३ जना नयाँ फुटबल प्रशिक्षक पाएको छ ।
कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न उक्त प्रशिक्षणले प्रदेशमा ग्रासरुट फुटबल विकासका लागि नयाँ आशा जगाएको छ । असार १ गतेदेखि ४ गतेसम्म महेन्द्रनगरस्थित खुला मञ्चमा सञ्चालन भएको चार दिने प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बाजुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लाका ४३ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
प्रशिक्षणमा फुटबल कोचिङका आधारभूत सिद्धान्त, खेलाडी व्यवस्थापन, प्रशिक्षण सञ्चालन विधि, खेल रणनीति, नेतृत्व विकास तथा खेल मनोविज्ञानसँग सम्बन्धित विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको जनाइएको छ ।
प्रशिक्षणको सहजीकरण एन्फा प्रशिक्षक सञ्जित सिंहले गर्नुभएको थियो । उहाँले सहभागीहरूलाई फुटबल प्रशिक्षकका रूपमा आवश्यक सीप, ज्ञान र व्यावसायिक दृष्टिकोण विकास गराउन केन्द्रित प्रशिक्षण दिनुभएको जिल्ला फुटबल संघका महासचिव नितेश रावलले जनाएको छ । चार दिने प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा दोधाराचाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बुले खेलकुद युवाहरूलाई अनुशासित, जिम्मेवार र सक्षम बनाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुद मनोरञ्जनको विषय मात्र होइन, यो व्यक्तित्व विकास, नेतृत्व निर्माण र सामाजिक रूपान्तरणको बलियो आधार पनि हो । आज प्रशिक्षित भएका यी युवा प्रशिक्षकहरूले भोलि गाउँ–गाउँमा प्रतिभाशाली खेलाडी उत्पादन गर्नेछन् भन्ने विश्वास लिएको छु ।” नगर प्रमुख लिम्बुले सुदूरपश्चिमको खेलकुद पहिचान अझ सशक्त बनाउन प्राविधिक रूपमा सक्षम जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकार खेलकुद पूर्वाधार विकास, प्रतिभा संरक्षण र प्रशिक्षण कार्यक्रमलाई सहयोग गर्न सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले कञ्चनपुरमा पहिलो पटक एन्फा कम्युनिटी कोर्स सञ्चालन गरिएको जानकारी दिँदै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हामीले दक्ष प्रशिक्षकको अभाव महसुस गरिरहेका थियौँ । प्रशिक्षककै अभावमा धेरै प्रतिभा ओझेलमा परेका थिए । अब यो प्रशिक्षणपछि ४३ जना नयाँ प्रशिक्षक तयार भएका छन् । यसले सुदूरपश्चिमको फुटबल विकासमा ठूलो योगदान पु¥याउनेछ ।” अध्यक्ष चन्दका अनुसार संघले आगामी दिनमा पनि नियमित रूपमा क्षमता अभिवृद्धि, प्रतियोगिता सञ्चालन तथा प्रशिक्षक विकासका कार्यक्रमलाई निरन्तरता दिनेछ । उहाँले फुटबललाई विद्यालय, समुदाय र ग्रामीण तहसम्म विस्तार गर्ने र एक वर्ष भित्रै "सी" लाइसेन्सको लागि प्रशिक्षक प्रशिक्षण तालिम गर्ने योजना रहेको पनि बताउनुभयो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश फुटबल संघका उपाध्यक्ष तेजबहादुर चन्दले फुटबल संघले दक्ष प्रशिक्षक उत्पादन गर्ने अत्यन्त महत्त्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले एउटा प्रतियोगिता आयोजना गर्नसमेत प्रशिक्षक खोज्नुपर्ने अवस्था थियो । अहिले आफ्नै प्रदेशमा खेल सञ्चालन गर्न सक्ने जनशक्ति तयार हुनु अत्यन्त सुखद पक्ष हो । अब यी प्रशिक्षकहरू ग्रासरुट स्तरसम्म पुग्नुपर्छ । गाउँ–गाउँमा रहेका प्रतिभालाई पहिचान गरी व्यावसायिक खेलकुदतर्फ डो¥याउन सक्नुपर्छ ।” उहाँले सुदूरपश्चिममा फुटबलको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै नयाँ प्रशिक्षकहरूले प्रदेशको खेलकुद भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले जिल्लामा फुटबल विकासका लागि फुटबल संघले गरिरहेको प्रयासको सराहना गर्दै पूर्वाधार अभाव मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिभाको कमी छैन, इच्छाशक्ति पनि छ । तर व्यवस्थित फुटबल मैदान, नियमित प्रशिक्षण केन्द्र र आर्थिक स्रोतको अभावले खेल क्षेत्रले अपेक्षित गति लिन सकेको छैन । राज्यले अब खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ ।” उहाँले खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको बताउँदै स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो ।
विशिष्ट अतिथि ओलम्पियन डम्बर भट्टले खेलाडी र प्रशिक्षक दुवै राष्ट्र निर्माणका महत्त्वपूर्ण जनशक्ति भएको बताउनुभयो । उहाँले प्रशिक्षकको गुणस्तरले खेलाडीको भविष्य निर्धारण गर्ने भएकाले यस्ता तालिमहरू अत्यन्त आवश्यक हुने बताउनुभयो । एन्फा प्रशिक्षक सञ्जित सिंहले प्रशिक्षण प्रभावकारी रूपमा सम्पन्न भएको बताउँदै सहभागीहरूको सिक्ने उत्साह प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चार दिन छोटो समय हो, तर सहभागीहरूको समर्पण निकै राम्रो रह्यो । अब यहाँबाट ४३ जना नयाँ प्रशिक्षक निस्किएका छन् । उनीहरूले सिकेको ज्ञान व्यवहारमा उतार्न सके सुदूरपश्चिमको फुटबलले नयाँ उचाइ लिनेछ ।” उहाँले प्रशिक्षार्थीहरूलाई निरन्तर अध्ययन, अभ्यास र खेलप्रतिको समर्पण कायम राख्न सुझाव दिनुभयो ।
समापन समारोहमा सबै ४३ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरूले प्रशिक्षणबाट फुटबल प्रशिक्षकका रूपमा आवश्यक आधारभूत ज्ञान, व्यावहारिक सीप, खेल रणनीति तथा नेतृत्व क्षमता विकास गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । सहभागिताको तर्फबाट प्रशिक्षार्थी हेमन्त रानाले भने, चार दिनमा सिकेका आधारभूत ज्ञानलाई व्यावहारिक रूपमा सबैले उतार्ने छौँ, जसले फुटबल विकासमा समेत टेवा पुग्ने छ।
स्वागत मन्तव्य कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले गर्नुभएको थियो । महासचिव रावलले प्रशिक्षण सफल बनाउन सहयोग गर्ने एन्फा, प्रशिक्षक, सहभागी, अतिथि तथा सबै सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो । यस प्रशिक्षणसँगै सुदूरपश्चिममा फुटबलको भविष्य थप आशावादी बनेको छ । नयाँ प्रशिक्षकहरूको आगमनले अब गाउँ–गाउँबाट नयाँ प्रतिभा पहिचान हुने, व्यवस्थित प्रशिक्षण प्रणाली विकास हुने र प्रदेशको फुटबल राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ । ग्रासरुट फुटबललाई बलियो बनाउने दिशामा यो प्रशिक्षणलाई सुदूरपश्चिम फुटबल इतिहासको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।