हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ असोज । कञ्चनपुरको बेलौरी नगरपालिकाले हाल बेलौरीमा भइरहेको जेन-जी आन्दोलन सम्बन्धी धारणा सार्वजनिक गरेको छ । गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा सहिद भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै नगरपालिकाले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक पेज मार्फत एक जानकारी पत्र जारी गर्दै मागबारे आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको हो ।
बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी र उपप्रमुख जोगराम चौधरीद्वारा हस्ताक्षरित जानकारी पत्रमा भनिएको छ कि, माग सम्बोधनका लागि असोज ९ गतेको कार्यपालिका बैठकले वार्ता समिति गठन गरेर दुई पटक जेन-जी समूहलाई वार्ताको लागि आग्रह गरेपनि उनीहरूले अस्विकार गरेपछि आफ्ना धारणा सार्वजनिक गर्न नगरपालिका बाध्य भएको हो ।

नगरपालिकाको धारणा :
संविधान चोकलाई जेन-जी चोक घोषणा गर्ने माग बारे नगरपालिका सर्वपक्षीय सहमति जुटाएर अघि बढ्न तयार रहेको जनाएको छ ।
राजनीतिक नियुक्ति प्राप्त करार कर्मचारी बर्खास्त गर्ने माग अस्वीकार गर्दै हाल कार्यरत १२३ करार कर्मचारीमध्ये कोही पनि राजनीतिक नियुक्तिमा नभएको दाबी नगरपालिकाले गरेको छ ।
तर, राजनीतिक भागबण्डा र मनपरि आफूखुसी राखिएका कर्मचारी तथा अनाधिकृत व्यक्तिहरूलाई मासिक तलब खुवाइरहेको बारे नगरपालिकाले मुख खोलेको छैन । यस विषयमा बेलौरीका अधिकांश पत्रकारहरू र जेन-जी बेलौरी तथा समर्थकहरूले माग गरेका पूर्ण विवरण उपलब्ध गराउन नगरपालिकाले अझै आलटाल गर्दै आएको छ ।
सडक मर्मतको मागमा वडा कार्यालयमार्फत पहल भइसकेको, हुलाकी सडक संघीय सरकारको मातहत भएकाले पटक पटक ध्यानाकर्षण गराइएको र तत्काल आवश्यक भागमा आंशिक मर्मत गरिएको जनाइएको छ ।
तर आफ्नो जिम्मेवारी अझैसम्म बोध गर्न सकेको छैन ।
सरसफाई र ढल व्यवस्थापनका विषयमा सरसफाई नियमित भइरहेको, ढल निकासका लागि संघीय सरकारले दिएको ठेक्कामा ढिलाइ भएकाले दवाव दिइरहेको जानकारी दिइएको छ ।
तर, आफ्नो क्षेत्राधिकार प्रति जिम्मेवार हुन सकेको छैन ।
हाटबजार सञ्चालनको लागि बजेट विनियोजन भइसकेको र यही चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याइने आश्वासन दिएको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण नगर भूमि ऐन २०८१ अनुसार हुने जनाएको छ ।
जेन-जी बेलौरी र समर्थक पक्ष असन्तुष्ट
तर, बेलौरी जेन-जी र समर्थकहरूले नगरपालिकाको यो धारणा सन्तोषजनक नभएको बताएका छन् । उनीहरूको भनाइमा, मागलाई सरसर्ती टार्ने शैलीले होइन, वार्ता र प्रत्यक्ष कार्यान्वयनमार्फत समाधान हुनुपर्छ । आन्दोलनरत युवाहरूले भनेका छन्, “वार्ता गरेरै माग पूरा गराएर सुशासन स्थापना गर्नुपर्छ । हामी अझै अडानमा छौँ ।” दशैँ बिदा सकिएलगत्तै संघर्षलाई थप सशक्त बनाउने तयारी रहेको उनीहरूले चेतावनी दिएका छन् ।
वार्तामै असहमति : सर्वदलीय र सर्वपक्षीय बैठकमा सहभागी नहुने
चौतर्फी आलोचनापछि बेलौरी नगरपालिका कार्यालयले बिहीबार दिउँसो प्रदर्शनरत युवाहरूलाई वार्ताका लागि बोलाएको थियो । तर सर्वदलीय र सर्वपक्षीय बैठकमा सहभागी नहुने अडानसहित उनीहरू वार्ता स्थलमै गएर बहिष्कार गरी फर्किएका थिए । नगरपालिकाले गठन गरेको सर्वदलीय वार्ता टोलीमा आफूहरू सहभागी नहुने उनीहरूको भनाइ छ ।
जेन-जी बेलौरी तथा समर्थकहरूको वार्ता सम्बन्धी अडान :
१. वार्तामा जेन-जी बेलौरी तथा समर्थकको तर्फबाट कम्तीमा १० जना प्रतिनिधि हुनुपर्ने ।
२. बैठकमा बेलौरी नगरपालिकाका कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र पत्रकार मात्र उपस्थित हुनुपर्ने ।
३. बैठकमा कुनै पनि राजनीतिक दलका व्यक्ति वा छलफलसँग सम्बन्धित नभएका कर्मचारी हुनु नपर्ने ।
४. बैठक पूर्ण रूपमा प्रत्यक्ष प्रसारण (Live) हुनुपर्ने ।