हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ मा जलवायु परिवर्तन न्यूनीकरण तथा दुर्लभ चराहरूको संरक्षणका लागि सरोकारवालाहरू एकै ठाउँमा जुटेका छन् । “चरा बचाऔँ; प्रकृति जोगाऔँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा चराको संरक्षण जैविक विविधताको सवाल मात्र नभई मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकोमा जोड दिइएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा सोमबार साँझ आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, वनकर्मी, चरा विज्ञ, स्थानीय अगुवा, युवा, महिला, संरक्षणकर्मी तथा पत्रकारसहित ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तनका कारण प्राकृतिक चक्रमा देखिएको असन्तुलन, वन क्षेत्रको क्षय, जलस्रोत सुक्दै जानु तथा चराहरूको वासस्थान सङ्कटमा पर्नुजस्ता विषयमा गम्भीर छलफल भएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले पछिल्ला वर्षहरूमा वातावरणीय असन्तुलन तीव्र रूपमा बढ्दै गएको बताए । उनले चराको संरक्षणलाई कुनै एक निकायको जिम्मेवारी मात्र नभई साझा दायित्वका रूपमा लिनुपर्ने धारणा राखे । उनले भने, “चरा प्रकृतिका अभिन्न अङ्ग हुन् । चराहरू हराउँदै जानु भनेको वातावरणीय सन्तुलन बिग्रिनु हो । यदि हामीले आजै संरक्षणमा ध्यान दिएनौँ भने भोलि प्रकृतिले ठूलो मूल्य असुल्नेछ । स्थानीय तहबाट संरक्षणमुखी नीति र कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ ।”
कार्यक्रमका प्रमुख अतिथि तथा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले जलवायु परिवर्तनको असर अहिले स्थानीय तहसम्म स्पष्ट देखिन थालेको बताए । अत्यधिक गर्मी, अनियमित वर्षा र खेती प्रणालीमा आएको परिवर्तनले मानवसँगै वन्यजन्तु तथा चराहरू प्रभावित भएको उनको भनाइ थियो । उनले भने, “प्रकृतिमाथि बढ्दो मानवीय दबाबले सङ्कट निम्त्याएको छ । वन विनाश, जलस्रोतको दोहन र प्रदूषणका कारण चराहरूको प्राकृतिक वासस्थान खुम्चिएको छ । अब संरक्षणलाई व्यवहारमै उतार्नुपर्छ । नगरपालिकाले यस्ता अभियानमा सहकार्य बढाउनेछ ।”

विशिष्ट अतिथि तथा कुण्डा सब डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवले वन संरक्षण र चराको अस्तित्व एक अर्कासँग गहिरो रूपमा जोडिएको बताए । वन क्षेत्र जोगिए मात्र जैविक विविधता सुरक्षित रहने उनको भनाइ थियो । उनले भने, “दुर्लभ चराहरू बस्ने मुख्य स्थान नै वन र सिमसार क्षेत्र हुन् । जब वन नष्ट हुन्छ, चराको वासस्थान समाप्त हुन्छ । संरक्षणका लागि समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक छ । वन कार्यालय यस अभियानमा सधैँ साथमा रहनेछ ।”
कार्यक्रममा उपस्थित अन्य वडाध्यक्षहरूले पनि वातावरण संरक्षणलाई स्थानीय विकाससँगै अगाडि बढाउनुपर्ने धारणा राखे । विकास निर्माणका नाममा प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन रोक्न आवश्यक रहेको उनीहरूको जोड थियो । उनीहरूले हरेक वडामा वृक्षारोपण, जलस्रोत संरक्षण र जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए ।
चरा विज्ञ हिरुलाल डगौराले दुर्लभ चराहरूको अवस्थाबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले कञ्चनपुर जैविक विविधताको हिसाबले अत्यन्त महत्त्वपूर्ण जिल्ला भए पनि पछिल्लो समय धेरै प्रजातिका चराहरू सङ्कटमा परेको बताए । उनले भने, “चराहरू प्रकृतिका सूचक हुन् । कुनै क्षेत्रको वातावरण कस्तो छ भन्ने कुरा त्यहाँ पाइने चराले बताउँछ । यदि चराहरू घटिरहेका छन् भने त्यो वातावरण बिग्रिँदै गएको सङ्केत हो । विषादीको अत्यधिक प्रयोग, वन विनाश, सिमसार क्षेत्र मासिनु र जलवायु परिवर्तन चराहरूका मुख्य शत्रु बनेका छन् ।” उनले स्थानीय समुदायलाई चराको वासस्थान जोगाउन, अवैध सिकार रोक्न तथा बालबालिकामा संरक्षण शिक्षा दिन आग्रह गरे ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै वडा सदस्य कमान सिंह चौधरीले संरक्षण अभियानलाई व्यवहारमा लागू गर्न सबै तहको सहकार्य आवश्यक रहेको बताए । उनले भने, “कार्यक्रम गरेर मात्र हुँदैन, व्यवहार परिवर्तन जरुरी छ । घर-घरबाट संरक्षणको सोच विकास भए मात्र अभियान सफल हुन्छ ।”
कार्यक्रमका सहजकर्ता तथा समाजसेवी तेजबहादुर चन्दले समुदायको सक्रियता बिना कुनै पनि संरक्षण अभियान दिगो हुन नसक्ने बताए । उनले भने, “प्रकृति जोगाउने जिम्मेवारी सरकारको मात्र होइन, प्रत्येक नागरिकको हो । एउटा रूख रोप्नु, चरालाई सुरक्षित वातावरण दिनु र प्रकृतिप्रति संवेदनशील बन्नु नै ठूलो योगदान हो ।”
कार्यक्रममा सहभागी भलमन्सा, पधना, समाजसेवी, बुद्धिजीवी, महिला तथा युवाहरूले पनि स्थानीय स्तरबाट संरक्षण अभियानलाई सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए । उनीहरूले जलवायु परिवर्तनको असर गाउँसम्म महसुस हुन थालेको बताउँदै समयमै सचेत नभए आगामी पुस्ताले गम्भीर सङ्कट भोग्नुपर्ने चेतावनी दिए ।
कार्यक्रमको निष्कर्षमा दुर्लभ चराको संरक्षण, वन तथा सिमसार क्षेत्रको सुरक्षा, वृक्षारोपण अभियान विस्तार, वातावरणीय शिक्षा प्रवर्द्धन तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ कि, चराहरू सुरक्षित भए प्रकृति सुरक्षित हुन्छ, र प्रकृति सुरक्षित भए मात्र मानव जीवन सुरक्षित रहन्छ ।