हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असोज । देशमा हरेक राजनीतिक परिवर्तनसँगै आम नागरिकमा नयाँ आशा र अपेक्षा जाग्ने गर्छ । अहिले जेनजी पुस्ताको आन्दोलनले जन्माएको नयाँ सरकारप्रति पनि नेपाली जनताका नजरहरू टाकिएका छन् । दशकौँदेखि भारतमा पसिना बगाउँदै आएका पश्चिम नेपालका लाखौँ प्रवासी मजदुरहरूको एउटै अपेक्षा छ, "अब स्वदेशमै रोजगारीको व्यवस्था होस् ।"
भारतको सिमलामा मजदुरी गरी फर्किएका कैलालीको टिकापुरका रामबहादुर चौधरी र टिकाराम चौधरी गड्डाचौकी नाकामा भेटिए । उनीहरू बर्खे खेती लगाएर दुई महिनाका लागि भारत पस्ने, फर्केपछि खेतीपाती भित्र्याउने र फेरि गाउँकै इँटा भट्टामा मजदुरी गर्ने योजनामा छन् । तर भविष्यप्रति उनीहरूमा आशा बाँकी छ ।
रामबहादुर चौधरी (टिकापुर, कैलाली) :
"हामी त खेतीपाती गरेर मात्र खान सक्दैनौँ । भारत जानु बाध्यता हो । तर स्वदेशमै काम पाइने अवस्था बने फेरि भारत पस्नै पर्दैन जस्तो लाग्छ ।"
टिकाराम चौधरी (टिकापुर, कैलाली) :
"वर्षौँदेखि भारतमा गएर पसिना बगाउँदै आयौँ । सरकारले अब युवालाई गाउँमै रोजगारी दिने व्यवस्था गरिदियो भने हाम्रो जस्तो दुःख अरूलाई भोग्नुपर्दैन होला भन्ने आशा छ ।"
उनीहरू मात्र होइनन्, पश्चिम नेपालका हजारौँ परिवार दशकौँदेखि मौसमी रोजगारीका लागि भारत धाउँछन् । जेनजी पुस्ताको आन्दोलनपछि बनेको नयाँ सरकारप्रति उनीहरूमा ‘अबको परिवर्तन हाम्रो जीवनमा पनि आउने हो कि ?’ भन्ने उत्सुकता छ । चाडपर्व मनाउन र बर्खे खेती भित्र्याउन स्वदेश फर्किएका अछामका धनकला कुँवर र देवमनि विक, बैतडीका दीपक सुवेदी तथा कैलालीका सुनिल सार्कीको धारणा पनि करिब करिब उस्तै छ, "अब युवाले आफ्नै माटोमा रोजगारी पाओस् ।"
धनकला कुँवर (अछाम) :
"चाडपर्वको बेला मात्रै गाउँ फर्किन्छौँ, बाँकी समय त सबै भारतमै बित्छ । अब सरकार परिवर्तन भएको छ, हाम्रो जीवनमा पनि परिवर्तन ल्याउने हो कि भन्ने अपेक्षा गरेका छौँ ।"
देवमनि विक (अछाम) :
"नयाँ पुस्ताले आन्दोलन गरेर नयाँ सरकार बनाएको छ । अब हाम्रो पुस्ताको भविष्य स्वदेशमै सुरक्षित हुन्छ भन्ने आशा छ ।"
दीपक सुवेदी (बैतडी) :
"गाउँमा केही काम पाइँदैन, भारत जानु बाध्यता हो । सरकारले यदि सीप अनुसारको काम स्वदेशमै दिने व्यवस्था गरिदियो भने हामीलाई खुसी लाग्छ ।"
सुनिल सार्की (कैलाली) :
"वर्षौँदेखि भारतमै कमाइरहेका छौँ, तर यो जीवन सजिलो छैन । हाम्रो सपना भनेको आफ्नै देशमा रोजगारी पाएर परिवारसँगै बस्न पाउनु हो ।"
देशको राजनीतिक दिशानिर्देश बदलिँदै गर्दा विदेशमा पसिना बगाउने नेपालीहरूको मन भने एउटै मागमा अडिएको छ, "रोजगारी अब स्वदेशमै होस्, जीवन आफ्नै घर आँगनमा उज्यालो होस् ।"