हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ कात्तिक । कञ्चनपुरको लालझाडी गाउँपालिकामा शुक्रबार बाल अधिकार, सुरक्षित शिक्षा र नेतृत्व विकास सम्बन्धी महत्वपूर्ण विषयमा केन्द्रित बाल सम्मेलन सम्पन्न भएको छ । लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित भानु माध्यमिक विद्यालयमा आयोजित सम्मेलनमा १० वटा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । समावेशी गुणस्तरीय शिक्षा परियोजना तथा आदिवासी जनजाति संघद्वारा आयोजित सम्मेलनमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) ले सहयोग गरेको थियो ।

सम्मेलनमार्फत बाल अधिकार, बाल नेतृत्व विकास, सुरक्षित विद्यालय, सामाजिक उत्तरदायित्व तथा सहभागितामूलक शिक्षा प्रणालीबारे विस्तृत छलफल गरिएको थियो । बालमैत्री वातावरण निर्माणमा सबै क्षेत्रको साझा प्रयास अपरिहार्य रहेको भन्दै विद्यालय, अभिभावक र समुदायबीचको समन्वय अझै मजबुत बनाउन वक्ताहरूले जोड दिएका थिए । बालबालिकाहरूले प्रतिनिधिमूलक ढंगबाट आफूहरूले गरिरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

आदिवासी जनजाति संघकी अध्यक्ष तथा कार्यक्रमकि अध्यक्ष गोमती रानाले ग्रामीण क्षेत्रका बालबालिकाले सिकाइ, सुरक्षा र अधिकारका विषयमा अझ बढी सशक्त आवाज उठाउन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार यस्तो सम्मेलनले बालमैत्री नीति स्थानीय तहमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि निर्मल रानाले बाल अधिकार संरक्षण स्थानीय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै विद्यालयमा संरचनात्मक तथा सिकाइ सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभयो । ‘‘बालमैत्री गाउँपालिका बनाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक र विद्यार्थी मिलेर अघि बढ्नुपर्छ,’’ उहाँले भन्नुभयो ।
विशिष्ट अतिथि एवं गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले बालबालिकाको मनोवैज्ञानिक सुरक्षा र नेतृत्व विकासमा विद्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री, सुरक्षित र समावेशी बनाउने योजनालाई गाउँपालिकाले निरन्तरता दिएको जानकारी दिनुभयो । शिक्षा शाखा प्रमुख सिद्धराज भट्टका अनुसार सिकाइमा लैङ्गिक समानता, विद्यालयमैत्री संरचना र गुणस्तरीय शैक्षिक गतिविधि विस्तार गर्न स्थानीय तह प्रतिबद्ध छ ।

समावेशी गुणस्तरीय शिक्षा परियोजनाका शिक्षा अधिकृत ऋषिकेश जैरुले उक्त परियोजनाले लालझाडी क्षेत्रमा बाल अधिकार र गुणस्तरीय शिक्षाको पहुँच विस्तारका लागि गर्दै आएको गतिविधि बारे जानकारी गराउँदै, यस्तो सम्मेलनले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । राष्ट्रिय बहुभाषिक विद्यालयका शिक्षक प्रतिनिधि तथा बाल क्लबका संरक्षक नारायण दत्त पाण्डेय (नरेन्द्र) ले विद्यालय तहमै बाल नेतृत्व अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउन शिक्षकको भूमिकालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

सरस्वती माविकी विद्यार्थी प्रतिनिधि सञ्जिता रानाले बालबालिकाले आफ्नो आवाज अभिभावक, विद्यालय र स्थानीय सरकारले सुन्ने वातावरण बनेकोमा खुसी व्यक्त गर्दै बालमैत्री गतिविधि अझ विस्तार गर्न आग्रह गर्नुभयो । भानु माविका प्रधानाध्यापक वेद प्रसाद उपाध्यायले सम्मेलनको समग्र सहजीकरण गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक दयाकृष्ण जोशीले बाल अधिकार र सुरक्षित विद्यालयसम्बन्धी डिजिटल प्रस्तुतीकरणमार्फत कार्यक्रमलाई आधुनिक र प्रभावकारी बनाउनु भएको थियो ।

बालबालिकाको प्रतिभा, सिप र विचारको अभिव्यक्ति तथा उनीहरूका अधिकारसम्बन्धी बहस विस्तार गर्ने उद्देश्यले गरिएको सम्मेलन सफलरूपमा सम्पन्न भएको परियोजनाले जनाएको छ । लालझाडीमा आयोजित यो सम्मेलनले स्थानीय तहमा बाल अधिकार प्रवर्द्धन, सुरक्षित विद्यालय निर्माण र समावेशी शिक्षामा नयाँ ऊर्जा थपेको मूल्यांकन गरिएको छ ।
