कञ्चनपुर, २९ कार्तिक । जटिल प्राणघातक क्यान्सर देखिएर उपचाररत नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको उपचार सहयोगार्थ महासंघ जापान शाखाले सुरु गरेको आर्थिक सहयोग संकलन अभियान तीव्र गतिमा अघि बढेको छ । भारतको नयाँ दिल्लीस्थित रोहिणीको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत अध्यक्ष धामीको उपचार खर्च अत्याधिक रहेकाले जापान शाखाले ‘सक्दो सहयोग’ अभियान सञ्चालन गरेको शाखाका सदस्य भवानी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार जापानमा रहेका पत्रकार तथा अन्य शुभेच्छुकहरूमार्फत उल्लेख्य रकम संकलन भइरहेको छ ।

जापान शाखाका अध्यक्ष शान्त पहरीका अनुसार नोभेम्बर १९ (मंसिर ३) सम्म अभियान सञ्चालन गरिँदैछ । "सबैलाई सक्दो सहयोग गरिदिन आग्रह गरेका छौँ,” पहरीले भन्नुभयो, “संकलित रकम नोभेम्बर २० मा नेपाल पठाइने छ ।” उहाँका अनुसार अभियान सुरु भएकाे दिनदेखि नै सहयोग आउने क्रम निरन्तर जारी छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मण तिवारीले जापान शाखाले चलाएको अभियान अत्यन्तै सराहनीय र प्रशंसनीय रहेको टिप्पणी गर्नु भयो । "थोरै-थोरै सहयोगले पनि एक परिवारको जीवन र भविष्य सुरक्षित हुन सक्छ," तिवारीले भन्नुभयो, “यस्तै कठिन समयमा देखाइने सहयोगको भावना नै मानवता हो ।” महासंघका देशविदेशमा रहेका अन्य शाखा तथा सम्पूर्ण व्यक्तित्वलाई पनि सहयोगका लागि तिवारीले आग्रह गर्नुभएको छ ।
यसअघि काठमाडौँस्थित मेडिकल कलेजमा धामीको पाचन प्रणालीसम्बन्धी ट्यूमरको पहिलो चरणको अपरेसन गरिएको थियो । दोस्रो चरणको उपचारका लागि उहाँलाई दिल्ली लगिएको हो । लामो समयसम्म उपचार आवश्यक पर्ने देखिइएपछि परिवारको सामर्थ्य मात्रले खर्च धान्न नसकिने भएकाले महासंघ कञ्चनपुर शाखाले पनि नेपालभित्र सहयोग अभियान सञ्चालन गरिरहेको छ ।
कञ्चनपुर शाखाले अध्यक्ष धामीको उपचारका लागि ‘सक्दो सहयोग गरिदिनु’ भन्दै सबैमा अपिल गरेको छ । उपचारमा जुटेको सामूहिक प्रयासले धामीको जीवन रक्षा तथा परिवारको भविष्य सुरक्षित हुने शाखाका सचिव कुन्दन राज पाण्डेयले विश्वास व्यक्त गर्नुभयो ।