कञ्चनपुर । शिवरात्री पर्वलाई लक्षित गर्दै युथ फोर्स नेपालले शिवरात्रीका नाममा हुने लागूऔषध तथा लागू पदार्थ दुरुपयोग रोक्न देशभर विद्यालय तहमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । धार्मिक आस्था र सांस्कृतिक महत्त्व बोकेको शिवरात्रीलाई विकृतिसँग जोड्ने प्रवृत्तिविरुद्ध संस्था सक्रिय बनेको हो ।

कञ्चनपुरमा पनि युथ फोर्स नेपाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा लागूऔषध तथा लागू पदार्थ दुरुपयोग विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रम युथ फोर्स नेपालका सचिव योगेन्द्र उपाध्यायको सभाध्यक्षतामा सम्पन्न भएको हो । प्रहरीको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएका चेतराज पन्तले लागूऔषधको कानुनी पक्ष, यसको दुष्प्रभाव र नियन्त्रणका उपायबारे विस्तृत प्रस्तुति दिनुभयो । उहाँले विशेष गरी चाडपर्वका बेला बढ्ने दुरुपयोगप्रति सजग रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्नुभयो ।

त्यसैगरी युथ फोर्स नेपालका उपाध्यक्ष रेखा भट्ट र कवेन्द्र जेठाराले शिवरात्री पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिबारे जानकारी दिँदै पर्वलाई सही अर्थमा मनाउन सबैलाई आह्वान गर्नुभयो । “शिवरात्री शिवको आराधना र आत्मसंयमको पर्व हो, यसलाई गाँजा, भाङ र धतुरो सेवनसँग जोड्नु गलत प्रवृत्ति हो” भन्ने सन्देश कार्यक्रममा प्रवाह गरिएको थियो ।

कार्यक्रममा युथ फोर्स नेपालका अम्बा दत्त जोशी र गजेन्द्र बहादुर बुढाले स्वागत मन्तव्य व्यक्त गर्दै युथ फोर्स नेपालको स्थापना, उद्देश्य तथा अभियानबारे प्रकाश पार्नुभयो । संस्थाको मुख्य उद्देश्य समाजमा विद्यमान विकृतिहरूको अन्त्य गर्नुका साथै युवा पुस्तालाई सकारात्मक सोच, अनुशासन, नेतृत्व र सामाजिक जिम्मेवारीबारे सचेत गराउनु रहेको अम्बा दत्त जोशीले स्पष्ट पार्नुभयो ।

युवालाई सही दिशामा मार्गदर्शन गर्दै सकारात्मक परिवर्तन ल्याउनु नै संस्थाको मूल लक्ष्य रहेको गजेन्द्र बहादुर बुढाको भनाइ छ । संस्थाले शिवरात्री जस्तो धार्मिक पर्वलाई सभ्य, मर्यादित र संस्कृतिमैत्री रूपमा मनाउन आग्रह गर्दै चाडपर्वका नाममा हुने लागूऔषध दुरुपयोग रोक्न सामूहिक सचेतना र सक्रिय सहभागिता अपरिहार्य रहेको जनाएको छ ।
