कञ्चनपुर । जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा मात्रै नभई सामाजिक सेवासँग जोड्ने प्रेरणादायी उदाहरण कञ्चनपुरमा प्रस्तुत गरिएको छ । श्रावण १५ गते एकै दिन जन्मदिन परेका दिदी-भाइले आफ्नो जन्मोत्सवको अवसरमा अनाथ, असहाय तथा विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

भीमदत्त नगरपालिका-३, भाँसी निवासी तथा नेहा पुस्तक पसल, गुलरियाकी सञ्चालक मञ्जु भट्ट र शुक्लाफाँटा नगरपालिका-७, जुडा निवासी तथा पुनर्वास नगरपालिका, नगर कार्यपालिकाको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी कृष्ण भट्टले जन्मदिनको अवसरमा श्री धर्म जनता माध्यमिक विद्यालय, स्टेशनपुरमा अध्ययनरत २५ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

दुवै जना श्री धर्म जनता माध्यमिक विद्यालय, स्टेशनपुरका पूर्वविद्यार्थी हुन् । उनीहरूले सोही विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गरेका थिए । कार्यक्रममा अङ्ग्रेजी शिक्षक विक्रम महरा, नेपाली शिक्षक हरिलाल भट्ट, सूचना अधिकारी अशोक बम, शिक्षिका हेमा भट्ट लगायतको उपस्थिति रहेको थियो ।

जन्मदिनलाई व्यक्तिगत खर्च र औपचारिकताभन्दा माथि उठाएर शिक्षा र सेवासँग जोड्ने यस कार्यको विद्यालय परिवार तथा स्थानीयवासीले प्रशंसा गरेका छन् । सहभागीहरूले यस्ता मानवीय अभियानले समाजमा सेवा, सहयोग र परोपकारको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

"सेवा नै धर्म हो, परोपकार नै पुण्य हो" भन्ने सन्देशलाई व्यवहारमा उतार्दै गरिएको यो अभियानले जन्मदिनलाई समाजसँग खुशी बाँड्ने अवसरका रूपमा स्थापित गरेको छ ।
