हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको तेह्रौँ गाउँ सभा (हिउँदे अधिवेशन) गरिएको छ । गाउँपालिकाको सभा हलमा सोमबार गरिएको गाउँ सभामा सडक स्तरोन्नति तथा मर्मत, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकास, लक्षित वर्ग विकास कार्यक्रम, आवश्यक साधन खरिद, आयमूलक तथा सीपमूलक कार्यक्रम, मानव संसाधन विकास, विपद् व्यवस्थापन, खेलकुद विकास आदिका विषयमा गहन समीक्षा र छलफल गरिएको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।
लालझाडी गाउँपालिकामा भौगोलिक विकटता भएको कारण सार्वजनिक सवारी साधन हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । उक्त समस्या समाधानको लागि गाउँपालिकाको अधिकांश बजेट सडक स्तरोन्नतिमा विनियोजित गरी कार्यान्वयन भइरहेको गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले उल्लेख गर्नुभयो । यसको साथै सडक सञ्जाल जोड्नको लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग समेत विशेष पहल गरिएको उहाँले बताउनु भयो । जनताले आशा गरे बमोजिम केही विकासका कार्यक्रम अगाडी बढाइएता पनि अझै धेरै गर्न बाँकी रहेकोले क्रमैसँग गाउँपालिकाको विकासमा अग्रसर रहने लालझाडी गाउँपालिकाकाका जनप्रतिनिधिहरूको प्रतिबद्धता छ ।
चालु आर्थिक वर्ष २०७९।०८० को लागि प्रस्तावित आय रु. ५३ करोड ८३ लाख १० हजार अनुमान गरेकोमा २०७९ साल श्रावण महिना देखि पुस महिनासम्म रु. २४ करोड ७४ लाख ५६ हजार ५३३ पैसा ५१ मात्र प्राप्त भएको र सो मध्ये पुस महिनासम्म ११ करोड ७ लाख १७ हजार १६३ मात्र खर्च भएको विवरण सभामा प्रस्तुत गरिएको लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम रानाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९।०८० मा वडा स्तर र गाउँपालिका स्तरमा सञ्चालन हुने योजना तथा कार्यक्रमहरु उपभोक्ता समिति तथा ठेक्का पट्टाबाट सञ्चालन भइरहेको समेत बताइएको छ ।
