हरिश्चन्द्र बाग, कञ्चनपुर, २० भदौ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित सितानगरमा आइतबारदेखि सिताराम गौरा समितिको आयोजनामा देउडा खेल कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौराका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष आई जङ्ग कुँवरले जानकारी दिनुभयो । आइतबार दिउँसो पूर्व सांसद एवं संविधानसभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको देउडा खेल कार्यक्रम वर्षाकै बिच पनि अबेर साँझसम्म जारी रह्यो ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा देउडिया तथा देउडा पारखीहरू वर्षामा भिज्दाभिज्दै पनि देउडा खेलमा रमेको दृश्य देखिन्थ्यो । उक्त कार्यक्रममा कञ्चनपुरको बेलौरी, बेलडाँडी, लालझाडी, पुनर्वास लगायत अन्य पालिकाहरूबाट समेत देउडा पारखीहरूको उपस्थिति रहेको जनाइएको छ । यद्यपि वर्षाका कारण आइतबार देउडा पारखीहरूको अपेक्षाकृत उपस्थिति हुन नसके पनि सोमबार बिहान १० बजेदेखि देउडा खेलको कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समितिका अध्यक्ष कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार, सोमबार दिनभर कलाकारहरू दीर्घ फुलारा, भुवन दाहाल, कल्पना खड्का, नन्दा कार्की, अस्मिता वडैला र स्थानीय कलाकारहरूको समेत जोडदार प्रस्तुति रहने छ । 