कैलाली, २८ जेठ । गोदावरी मिडिया प्रा.लि. द्वारा सञ्चालित गोदावरी एफ.एम. ८७.९ मेगाहर्जले आफ्नो प्रसारण यात्राको १० वर्ष पुरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । २०६७ साल भदौमा प्रा.लि. दर्ता गरी सोही वर्ष मंसिरमा सञ्चार मन्त्रालयबाट एफ.एम. प्रसारणका लागि अनुमति पाएको थियो । तर एफ.एम. ले आफ्नो नियमित प्रसारण भने २०६८ जेठ २८ गतेदेखि गरेको हो । सोही दिनलाई एफ.एम. ले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका रूपमा मनाउँदै आएको छ ।
५०० वाट क्षमतामा प्रसारण हुँदै आएको एफ.एम. ले समाचार, मनोरञ्जन लगायतका विविध कार्यक्रम दैनिक १८ घण्टा प्रसारण गर्दै आएको छ । एफ.एम. ले विगत १० वर्ष देखि यस क्षेत्रका नागरिकलाई सु- सूचित गर्दै आएको एफ.एम. का प्रबन्ध निर्देशक गोविन्द रोस्याराले दाबी गर्नुभयो । उहाँका अनुसार, यो वर्ष कोरोना महामारी र जारी निषेधाज्ञाको कारण कुनै औपचारिक कार्यक्रम भने गरिएको छैन । एफ.एम. व्यवस्थापकले आगामी दिनमा पनि प्रसारण क्षमतालाई बढाउँदै लैजाने बताएको छ ।
यस्तै निर्देशक रोस्याराले गोदावरी मिडिया प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पोर्टल गोदावरी न्युज डटकमलाई थप सशक्त बनाइने बताउनु भयो । 'बढ्दो प्रविधिको चुनौतीसँगै व्यावसायिक बजार खुम्चिँदै गएको हालको परिवेशमा एफ .एम. सञ्चालन गर्न निकै कठिन भएको छ' रोस्याराले भन्नुभयो, 'तर पनि विगत १० वर्ष देखि यस क्षेत्रमा हामीले हाम्रो उपस्थिति राम्रो देखाएका छौँ, आउने दिनमा पनि एफ.एम. को प्रसारण क्षमतालाई गाउँगाउँसम्म पुर्याउन प्रयत्न गर्ने छौँ ।'
गोदावरी एफ.एम. का समाचार प्रमुख हेमराज भट्टले आगामी दिनमा पनि एफएम र अनलाइनको समाचारलाई अझै विश्वसनीय र प्रभावकारी बनाइने बताउनु भयो । हाल प्रसारण भई रहेका दैनिक ५ वटा स्थानीय समाचार बुलेटिनलाई नियमित राखिने र थप प्रभावकारी बनाइने भट्टको भनाइ छ । १० वर्षको यात्रामा साथ दिने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभचिन्तकहरूमा एफ.एम. ले धन्यवाद ज्ञापन समेत गरेको छ । वार्षिकोत्सवकै अवसरमा शुक्रबार साँझ मानव सेवा आश्रम धनगढीमा खाना खुवाउने कार्यक्रम गरिएको छ ।