हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले सरकारले औद्योगिक क्षेत्र प्राथमिकतामा राखेको समेत बताउनु भयो । बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७ औँ कार्यकारी समितिको शपथ तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले अर्थतन्त्र सुधार र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेकोले सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर थुप्रै कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नु भएको छ ।
सरकारले कञ्चनपुरका दोधाराचाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रलाई अघि बढाउने समेत मन्त्री बडूले प्रतिबद्धता जनाउनु भयो । बन्द उद्योग सञ्चालन गर्ने सरकारको नीति रहेको बताउँदै मन्त्री बडूले चालु वर्षदेखि प्रधानमन्त्री राष्ट्रिय उत्पादन उपभोग कार्यक्रम सञ्चालन हुने समेत जानकारी दिनुभयो । औद्योगिक क्षेत्र विस्तारका लागि निजी क्षेत्रसँग साझेदारी र सहकार्य समेत आवश्यक रहेको उहाँको भनाइ छ ।

