महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ' कार्यक्रमको थालनी गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तीकरणको लागि कार्यक्रम सञ्चालन गरेको उक्त कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभएको छ । देशभरबाट शाखा र उपशाखा प्रमुख र अधिकृतहरू समेत गरी ७५ जनाको उपस्थितिमा पुस ४ गते चितवनको सौराहा स्थित होटेल सेभेन स्टारमा आयोजित समारोहको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले समाजमा पिछडिएका तथा आर्थिक रूपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उहाँहरूलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले 'महिला सशक्तीकरणमा- महालक्ष्मी लाइफ' कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराउनु भएको थियो । "देशमा महिलाको जनसङ्ख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकोले उहाँहरूलाई सक्षम र आर्थिक रूपमा सबल नबनाई देश अघि बढ्न सक्दैन । महिलाहरूलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने छ" प्रमुख कार्यकारी अधिकृत भट्टराईले भन्नुभयो । आर्थिक वर्ष २०७९/८० भित्र परीक्षणको रूपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिने जनाइएको छ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । त्यसबाट सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी महिलाहरूलाई तालिम दिने, रोजगारीको लागि बिमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको बताइएको छ ।