हरिश्चन्द्र बाग, कञ्चनपुर, २० चैत्र । कोरोना भाइरस विरुद्धको खोप सेवालाई प्रभावकारी बनाउन र लक्षित उमेर समूहका हरेक नागरिकलाई खोप सेवा उपलब्ध गराउन कञ्चनपुरमा घरदैलो मै कोरोना विरुद्धको खोप सेवा प्रदान गर्न लागिएको छ । हाल भीमदत्त नगरपालिका वडा नम्बर ९ का विभिन्न बस्तीहरू तथा घरदैलोमै गई कोरोना विरुद्धको खोप सेवा दिने कार्य जारी रहेको छ ।

भीमदत्त नगरपालिका, निड्स नेपाल, लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर), बागेश्वरी असल शासन क्लब (बास) र युनिसेफको सहयोगमा भीमदत्त नगरपालिका वडा नम्बर ९ मा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहेको छ । गाउँ बस्ती तथा घरदैलोमै पुगी लक्षित उमेर समूहका सबै नागरिकलाई खोप सेवा दिन थालेपछि सेवाग्राहीहरूले सहज महसुस गरी खुसी व्यक्त गर्नु भएको छ । केही नागरिकहरूमा कोरोना विरुद्धको खोप सम्बन्धी गलत अफवाह र भ्रम समेत रहेकोमा उक्त अभियान मार्फत सबैलाई वास्तविक जानकारी दिइएको छ ।
घरायसी कार्य व्यस्तता, जनचेतनाको अभाव र अशक्तताले गर्दा खोप केन्द्र तथा स्वास्थ्य संस्थासम्म जान नसकेका र बाँकी आवश्यक मात्राको खोप लगाउने समय पुगेका नागरिकहरूलाई घुम्ती शिविर मार्फत खोप सेवा प्रदान गर्ने कार्य भइरहेको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथले बताउनु भयो । उक्त वडामा ब्रह्मदेव सहरी स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द धामीको नेतृत्वमा स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सङ्घसंस्थाहरूका कर्मचारीको टोली परिचालन गरी खोप सेवासँगै जनचेतना समेत प्रदान गरिएको छ ।

लक्षित उमेर समूहका कुनै पनि नागरिक कोरोना विरुद्धको खोप सेवाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले सञ्चालन गरिएको अभियानले सार्थकता पाएको छ । दैनिक औसत ५० जनालाई गरी ३०० जनालाई कोरोना विरुद्धको खोप प्रदान गरिएको रिकोभर परियोजनाका कार्यक्रम संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो । रिकोभर परियोजनाले कञ्चनपुरका भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकामा विभिन्न कार्यक्रम लागु गरेको छ । यसपछि भीमदत्त नगरपालिका भित्रका अन्य विकट बस्तीमा समेत खोप अभियान सञ्चालन गरिने र परियोजना लागु भएका अन्य पालिकामा समेत उक्त अभियान विस्तार गर्ने योजना रहेको बताइएको छ ।
