हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ । लालझाडी गाउँपालिका-३ नन्दगाउँमा रहेको लालझाडी आधारभूत अस्पताल तथा शंकरपुर आयुर्वेद औषधालयको नवनिर्मित भवन सोमबार एक समारोहबीच उद्घाटन गरिएको हो ।
नवनिर्मित भवनसँगै गाउँपालिकाका नागरिकलाई स्थानीयस्तरमै थप व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । भौगोलिक रूपमा विकट मानिने लालझाडीका नागरिकले सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने गाउँपालिकाको विश्वास छ ।
भवन उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष निर्मल रानाले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध भए पनि दक्ष चिकित्सक तथा स्वास्थ्य जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको बताउनुभयो । आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष रानाका अनुसार अस्पताल भवन निर्माण गर्ने निर्माण कम्पनीले सम्झौतामा तोकिएको समयभन्दा करिब एक वर्षअघि नै भवन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने शंकरपुर आधारभूत विद्यालयप्रति आभार व्यक्त गर्दै उहाँले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गरी स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले पूर्वाधार विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको क्षेत्रमा गाउँपालिकाले उल्लेख्य प्रगति गरेको दाबी गर्दै अब आफ्नै पालिकामा विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्ने दिशामा अघि बढ्न सकिने बताउनुभयो ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष मदनसेन बडायकले आफ्नो कार्यकालमा शिलान्यास गरिएको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आउनु खुसीको विषय भएको बताउनुभयो । संघीयता कार्यान्वयनसँगै जनताको सहभागिता र करबाट निर्माण भएका संरचनाबाट नागरिकले गुणस्तरीय सेवा पाउनुपर्ने उहाँको भनाइ थियो ।
लालझाडी भौगोलिक रूपमा विकट क्षेत्रमा रहेकाले आफ्नो कार्यकालमा पालिकाको विकासका लागि सक्दो पहल गरेको उल्लेख गर्दै बडायकले दीर्घकालीन योजना बनाएर विकास निर्माणका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । अस्पतालमा आवश्यकताअनुसार दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउँदै उहाँले विकास र सामाजिक रूपान्तरण कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने भएकाले सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले अस्पताल निर्माण सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण निकाय, जनप्रतिनिधि, कर्मचारी तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो । अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडा नम्बर-३ का वडाध्यक्ष टिकाराम डगौराले अस्पताललाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरी नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
अस्पताल भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने शंकरपुर आधारभूत विद्यालय तथा भवन निर्माण गर्ने निर्माण व्यवसायीलाई कार्यक्रममा सम्मान गरिएको थियो । लालझाडी गाउँपालिका-३ नन्दगाउँमा निर्माण भएको अस्पताल भवन रुद्रावती निर्माण सेवाले निर्माण गरेको हो । उद्घाटन समारोहमा स्थानीय संस्कृति झल्काउने सखिया तथा होरी नाचसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्र रावल, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपाने, गाउँपालिकाका कार्यपालिका तथा वडा सदस्य, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो । कार्यक्रमको स्वागत मन्तव्य वडा नम्बर २ का अध्यक्ष आशाराम रानाले राख्नुभएको थियो भने सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले गर्नुभएको थियो ।