हरिश्चन्द्र बाग / प्रकाश भट्ट, कञ्चनपुर । जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, तातो हावा (लू), बाढी, डुबान तथा सरुवा रोगको जोखिमले समुदायको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले जोखिममा रहेका नागरिकलाई लक्षित गर्दै एकदिने बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार दोधारा चाँदनी नगरपालिकाको आयोजनामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘जलवायु उत्थानशील समुदाय (सीआरसी)’ परियोजना अन्तर्गत आयोजित शिविरमा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा नाक, कान, घाँटी (ईएनटी) सम्बन्धी समस्या भएका बिरामीहरूलाई प्राथमिकताका साथ विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, आवश्यक परामर्श, औषधि वितरण तथा थप उपचार आवश्यक देखिएका बिरामीहरूको रेफरलसमेत गरिएको थियो । उपचारका लागि आर्थिक अभाव, यातायातको कठिनाइ तथा दुर्गम भौगोलिक अवस्थाका कारण नियमित स्वास्थ्य सेवा लिन नसकेका स्थानीयवासीका लागि शिविर प्रभावकारी बनेको सहभागीहरूले बताएका छन् ।

जलवायु परिवर्तनले बढायो स्वास्थ्य चुनौती ।।
दोधारा चाँदनी नेपाल-भारत सीमावर्ती तथा महाकाली नदी र जगबुडा नदीको प्रभाव क्षेत्रमा पर्ने भएकाले मनसुनका बेला बाढी र डुबानको उच्च जोखिममा रहने नगर हो । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, तातो हावा (लू), अनियमित वर्षा तथा पानीजन्य रोगको जोखिमसमेत बढ्दै गएको छ । यस्ता विपद्का कारण सबैभन्दा बढी गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू प्रभावित हुने भएकाले उनीहरूलाई समयमै स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

दोधारा चाँदनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. हरिओम केसरीले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिरहेको बताउनुभयो । उहाँका अनुसार केही साताअघि देखिएको अत्यधिक गर्मी र त्यसपछि सुरु भएको निरन्तर वर्षाले झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, छालासम्बन्धी समस्या, श्वासप्रश्वासका संक्रमण तथा अन्य सरुवा रोग फैलिने सम्भावना बढेको छ । “यस्तो मौसममा खानपान, व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र समयमै उपचार अत्यन्त आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “सामान्य स्वास्थ्य समस्या देखिए पनि हेलचेक्र्याइँ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”

विपद् पूर्वतयारीसँगै स्वास्थ्य सुरक्षामा जोड ।।
सीआरसी परियोजनाका संयोजक महेश घिमिरेले जलवायु परिवर्तनको असर अब वातावरणमा मात्रै सीमित नरही नागरिकको स्वास्थ्यमा पनि प्रत्यक्ष देखिन थालेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापन भनेको उद्धार र राहतमा मात्रै सीमित नभई समुदायको स्वास्थ्य सुरक्षालाई समेत सुदृढ बनाउनु भएको उल्लेख गर्दै यस्ता शिविरले जोखिममा रहेका नागरिकलाई समयमै सेवा पुर्याउन सहयोग गर्ने बताउनुभयो । “प्रतिकूल मौसमका कारण स्वास्थ्य सेवा लिन कठिनाइ हुने समुदायसम्म सेवा पुर्याउनु हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो, “स्थानीय सरकारसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।”

नगरपालिकाको प्राथमिकतामा नागरिकको स्वास्थ्य ।।
दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका कार्यक्रमसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभयो । “बाढी, डुबान, तातो हावा (लू) जस्ता प्राकृतिक विपद्का बेला सबैभन्दा बढी जोखिममा पर्ने समुदायलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु अत्यन्त आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “यस्ता शिविरले नागरिकलाई तत्काल राहत दिनुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य सचेतना बढाउन पनि मद्दत पुर्याउँछ ।”

विशेषज्ञ सेवा गाउँमै पुग्दा स्थानीय उत्साहित ।।
शिविरमा प्राविधिक सहयोग गरेको मन्त्र अस्पतालका हस्पिटल म्यानेजर राजेन्द्र बहादुर चन्दले ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकसम्म विशेषज्ञ सेवा पुर्याउनु सामाजिक उत्तरदायित्व भएको बताउनुभयो । उहाँले शिविरमा जटिल प्रकृतिका बिरामी पहिचान गरी आवश्यक परे थप उपचारका लागि अस्पतालसँग समन्वय गरिने जानकारी दिनुभयो ।

सीआरसी परियोजनाका एमआईएल अफिसर गोविन्द नारायण उपाध्यायले जलवायुजन्य विपद् र त्यसबाट उत्पन्न हुने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै समुदायमा प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परियोजना सञ्चालन भइरहेको बताउनुभयो । उहाँले स्थानीय सरकार तथा सरोकारवाला निकायसँगको सहकार्यले समुदायलाई सुरक्षित, सक्षम र जलवायु अनुकूल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीयको अनुभव : ‘घरमै विशेषज्ञ सेवा पाउँदा ठूलो राहत’।।
शिविरबाट सेवा लिएका स्थानीयवासीले यस्ता कार्यक्रमलाई अत्यन्त उपयोगी भएको बताएका छन् । स्थानीय देवी सुनारले आर्थिक अभाव र अस्पतालसम्म पुग्न कठिन भएकाले लामो समयदेखि उपचार गर्न नसकेको बताउँदै गाउँमै विशेषज्ञ चिकित्सकबाट परीक्षण र निःशुल्क औषधि पाउँदा ठूलो राहत महसुस भएको बताउनुभयो । अर्का स्थानीय देवबहादुर सुनारले टाढाको अस्पताल धाउनुपर्ने बाध्यता हटेको भन्दै नगरपालिका र सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो । त्यस्तै सुखबहादुर ओलीले विपद्को समयमा यस्ता स्वास्थ्य शिविर अझ बढी आवश्यक हुने उल्लेख गर्दै गरिब, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायका लागि यस्ता कार्यक्रम नियमित हुनुपर्ने धारणा राख्नुभयो ।
२१६ भन्दा बढी नागरिकले लिए विशेषज्ञ सेवा ।।
नगरपालिकाका अनुसार शिविरमा २१६ भन्दा बढी नागरिकले विशेषज्ञ स्वास्थ्य परीक्षण, परामर्श, आवश्यक औषधि तथा अन्य स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविर सञ्चालनमा मन्त्र अस्पताल, स्माइल ट्रेन, जीव फाउन्डेसन तथा दोधारा चाँदनी नगर अस्पतालले प्राविधिक सहयोग गरेका थिए । नगरपालिकाले जलवायु परिवर्तनका कारण बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आगामी दिनमा पनि विपद् पूर्वतयारी, स्वास्थ्य सचेतना, समुदायस्तरीय स्वास्थ्य सेवा तथा जोखिममा रहेका नागरिकलाई लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।
स्वास्थ्यकर्मीहरूको भनाइमा जलवायु परिवर्तनको प्रभावसँग जुध्न पूर्वतयारी, जनचेतना, समयमै उपचार र स्थानीय तहबाट समुदायमै पुग्ने स्वास्थ्य सेवाको विस्तार अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता बनेको छ । दोधारा चाँदनीमा सञ्चालन गरिएको यो शिविर त्यसै दिशातर्फको एक व्यवहारिक प्रयासका रूपमा हेरिएको छ । शिविर सञ्चालनमा मन्त्र अस्पताल, स्माइल ट्रेन, जीवा फाउन्डेसन तथा दोधारा चाँदनी नगर अस्पताल लगायतका संघसंस्थाहरूले प्राविधिक सहयोग गरेका थिए ।