हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असार । वर्षायाम सुरु भएसँगै कञ्चनपुरको दक्षिणी क्षेत्रमा सर्पदंशका घटना बढ्न थालेका छन् । समयमै उपचार नपाएको भए ज्यानै जान सक्ने अवस्थामा रहेका दुई गम्भीर बिरामीलाई बेलौरीस्थित ईशान मेमोरियल अस्पतालले सफल उपचारमार्फत नयाँ जीवन दिएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ की १५ वर्षीया दीपिका बिष्टलाई सर्पले डसेपछि असार १४ गते गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । शरीरमा विषको असर तीव्र रूपमा फैलिन थालेपछि उनको अवस्था चिन्ताजनक बनेको थियो । अस्पतालमा तत्काल उपचार सुरु गरिएकाले स्वास्थ्यमा क्रमिक सुधार आएको र उपचारको दोस्रो दिनमै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
यस्तै, पुनर्वास नगरपालिका वडा नम्बर २ की ३० वर्षीया लक्ष्मी सार्कीलाई पनि सर्पले डसेपछि असार १६ गते अस्पताल ल्याइएको थियो । अस्पताल पुगेलगत्तै सर्पविष प्रतिरोधी औषधिसहित आवश्यक उपचार सुरु गरिएपछि उनको अवस्था नियन्त्रणमा आएको थियो । उपचारको दोस्रो दिनमै स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनी घर फर्किएकी छन् ।
अस्पतालका मानव स्रोत शाखाका मदन भण्डारीका अनुसार कञ्चनपुरका बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी लगायतका क्षेत्रबाट सर्पदंशका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । वर्षायाममा विशेषगरी घाँसपात, खेतबारी र घर वरपर सर्पको जोखिम बढी रहने भएकाले सतर्कता अत्यावश्यक छ । सर्पदंश उपचारका लागि आवश्यक सर्पविष प्रतिरोधी औषधि अस्पतालमा निःशुल्क उपलब्ध रहेको छ । नेपाल सरकारले उपलब्ध गराउने उक्त औषधिका कारण बिरामीले अतिरिक्त औषधि तथा विशेष सेवा बाहेक उपचार शुल्क तिर्नु पर्दैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०८१ असार १४ गते ईशान मेमोरियल अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको थियो । चार वर्षका लागि अनुमति पाएसँगै अस्पतालले दक्षिणी कञ्चनपुरका बासिन्दालाई स्थानीय स्तरमै सहज उपचार सेवा दिँदै आएको छ । अस्पतालका अध्यक्ष आई जङ्ग कुँवरका अनुसार विगतमा विषालु सर्पको डसाइपछि टाढाका अस्पताल पुग्न नसक्दा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो । “स्थानीय स्तरमै उपचार सेवा सुरु भएपछि विगत दुई वर्षमा थुप्रै बिरामीले समयमै उपचार पाएका छन्,” उहाँले भन्नुभयो, “सर्पदंशका बिरामीका लागि सुरुवाती केही घण्टा अत्यन्त संवेदनशील हुने भएकाले ढिलाइ गर्नु जोखिमपूर्ण हुन्छ ।”
चिकित्सकहरूले वर्षायाममा सर्पको जोखिम झन् बढ्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । सर्पले डसेपछि झारफुक, घरेलु उपचार, अंग बाँध्ने वा घाउ चिर्ने जस्ता गलत अभ्यासमा अल्झिनुभन्दा बिरामीलाई शान्त राखेर तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु नै जीवन बचाउने सबैभन्दा प्रभावकारी उपाय भएको ईशान मेमोरियल अस्पताल बेलाैरीमा कार्यरत डा. जाफिर आलमकाे भनाइ छ ।