हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ असोज । आज नेपालमा राष्ट्रिय कण्डम दिवस मनाइएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबारका दिन नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी राष्ट्रिय कण्डम दिवस मनाउने गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना एवं परिवार नियोजन संघ नेपाल, महाकाली प्रादेशिक अस्पताल, भीमदत्त नगरपालिका, एनएनएसडब्ल्युए, सहयात्रा नेपाल र नव आशा लगायत यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सक्रियतामा शनिबार कञ्चनपुरको महेन्द्रनगरमा पनि "दोहोरो सुरक्षाका लागि कण्डमकाे प्रयोग गरौँ" भन्ने नाराका साथ २८औँ राष्ट्रिय कण्डम दिवस मनाइएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा एचआइभी, एड्स, यौन रोग तथा अनिश्चित गर्भ रहनबाट बच्न र बचाउन कण्डमको सही प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने लगायतका विषयमा अभियन्ताहरूले चेतनामूलक सन्देश प्रवाह गर्नुभएको छ । कार्यक्रममा सहभागी महिला तथा पुरुषहरूले छुट्टाछुट्टै कण्डम फुलाउने प्रतिस्पर्धा समेत गर्नुभयो । कण्डमको प्रयोग, यसको प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने विधि लगायतको बारेमा जानकारी दिनुका साथै निःशुल्क कण्डम वितरण समेत गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन अधिकृत तथा एचआइभी एड्स फोकल पर्सन कपिलदेव जोशीले बताउनु भयो ।




