कञ्चनपुर, २० कार्तिक । कञ्चनपुरको बेलौरीमा बिहीबार अर्थात कार्तिक २१ गतेबाट सुरु हुने दोस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ को तयारी पूरा भएको आयोजकले जनाएको छ । बिहीबार एक भव्य कार्यक्रमका बीच बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले सो कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गरिब तथा अनाथ वालबालिकाको सहयोगार्थ पूर्व विद्यार्थी समाज शान्ति मावि बेलौरीको आयोजनामा सो महोत्सव हुन लागेको हो ।
एघार दिन सम्म चल्ने सो महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ । स्थानीय उत्पादनहरुलाई प्रोत्साहन गर्ने, त्यसको बजारीकरणमा गरी उपभोक्ता सम्म आपूर्ति गर्ने, व्यापारी, उद्योगी तथा उपभोक्ताहरुबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै आर्थिक गतिविधिहरुको प्रवर्द्धन गर्ने अवधारणाका साथ महोत्सव आयोजना गरिएको हो ।
यस क्षेत्रको समग्र पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा सबै आयामका पक्षहरुलाई प्रचार–प्रसार गर्ने, विकास र प्रवर्द्धनमा सहयोग पुग्ने र सामाजिक चेतनामा अभिवृद्वि जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिन लागिएको महोत्सव समितिका सचिव इन्द्रनाथ रेग्मीले बताउनुभयो । महोत्सवले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार, व्यवसाय, उद्योग–धन्दा तथा उत्पादनको प्रवद्र्धन गर्नुका साथै स्थानीय कृषि, पर्यटन लगायत अन्य पेशासंग सम्बन्धित विभिन्न पक्षको समुन्नती गरी स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन मद्दत गर्ने विश्वास लिइएको छ ।
विशेष गरी बैलोरीको साँस्कृतिक निधीलाई नगर क्षेत्र बाहिर जिल्ला तथा प्रदेशस्तरमा प्रचार प्रसार गर्ने विश्वास सहित यहाँका विभिन्न राजनितिक दल, सरकारी निकाय, संघसंस्था, वित्तिय संस्था, शैक्षिक संस्था, धार्मिक स्थलहरु, जातिय समाजहरु र नागरिक समाज लगायत समग्र सबै पक्षको आपसी सद्भाव एवं समन्वय तथा माया पाउन सफल हुने आशा, विश्वास लिदै महोत्सव आयोजना गर्न लागेको महोत्सव समिती संयोजक रामेश्वर न्यौपानेले बताउनुभयो ।
महोत्सवलाई करिब ५० हजार दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । यस मेलाबाट संकलित आम्दानीमा वचत गरी बेलौरी क्षेत्रमा रहेका अति विपन्न समुदाय र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोगार्थ छात्रवृत्ती प्रदान एवम् सामाजिक क्षेत्रमा लगानी गर्दै बाकी वचतबाट संस्थालाई आर्थिक रुपले आफ्नो अस्तित्वमा सवल बनाउदै यस क्षेत्रको समग्र शैक्षिक तथा सामाजिक गतिविधिमा प्रभावकारी भूमिका खेल्न सहयोग गर्ने लक्ष्य रहेको संयोजक न्यौपानेले बताउनुभयो ।
महोत्सवमा यस क्षेत्रको मौलिक सास्कृतिक भेषभुषा झल्कने झाकी सहितको र्याली , आकर्षक २०० वटा स्टलहरु, विविध सास्कृतिक एवं लोक नृत्यहरु प्रदर्शन ,विद्यालय स्तरीय एकल सामुहिक नृत्य प्रतियोगिता रहने छ । त्यसैगरि स्टलमा लघु उद्यम प्रदर्शनी ,कृषि प्रर्दशनी , अटो प्रर्दशनी , निर्माण सामग्री तथा कृषि औजार, दैनिक उपभोग्यका सामग्री ,जुत्ता चप्पल ,फुड स्टल , हस्तकला सामग्री ,केराको उत्पादन, बजार विस्तार र केराबाट बन्ने अन्य वस्तुहरु, विभिन्न जातका उखुका विउहरु, दुग्धजन्य पदार्थहरु का साथै कपडा तथा रेडिमेट फेन्सी राखिनेछ ।
स्थानीय स्तरका विभिन्न कला र संस्कृति झल्काउने थारु नाच, देउडा गीत, डेउडा खेल, कौडा, मादल नाच,पञ्चेबाजा नाच, खेली नाच (खैजडी मजुरा सहित) आदि जस्ता विभिन्न कार्यक्रम समेत महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ । महोत्सव अवलोकनका लागि साधारण टिकट रु. ५०, विद्यार्थी र शारीरिक अपाङ्गता भएकाहरुका लागी रु. ३५,जेष्ठ नागरिकको हकमा रु. २५ का दरले निर्धारण गरिएको छ । महोत्सव सञ्चालनका लागि लगभग पच्चिस लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
यो समाचार हाम्रै साझा पत्रिकाबाट साभार गरी सम्पादन गरिएको हो ।