हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ असार । “भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौँ” भन्ने मूल नारासहित कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ मा तीन दिने वृक्षारोपण अभियान जारी छ । शुक्रबारदेखि सञ्चालन गरिएको उक्त अभियानको दोस्रो दिन शनिबार पनि स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ ।

वडाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार पौलाहा, भगतपुर, खैराना र पुरानो बेलौरीका सार्वजनिक स्थलहरूमा सयौँ बोट बिरुवा रोपिएको छ । “वडा क्षेत्रभित्र तीन दिनमा दुई हजारभन्दा बढी बोट बिरुवा रोप्ने लक्ष्य छ,” श्रेष्ठले बताउनुभयो, “समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि र युवाहरूको सक्रिय सहयोगमा अभियान अघि बढाइएको हो ।”

शुक्रबारबाट सुरु भएको अभियानको उद्घाटन नगर उपप्रमुख जोगराम चौधरीले गर्नुभएको थियो । उहाँले वृक्षारोपण कार्यक्रमलाई बेलौरी नगरभर विस्तार गर्ने योजना रहेको बताउनुभयो । पहिलो दिनको कार्यक्रममा वडा नम्बर ५, ६ र ७ का वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय युवाहरूको उपस्थिति थियो ।

स्थानियवासीहरूले समेत अभियानप्रति खुसी व्यक्त गर्नुभएको छ । वृक्षारोपण अभियान आइतबारसम्म जारी रहने जनाइएको छ । वातावरणीय सन्तुलन कायम गर्न र हरित नगर निर्माणतर्फ अभियानले सकारात्मक सन्देश फैलाएको सहभागिहरूको विश्वास छ ।
