हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ असार । वन संरक्षण र हरियाली प्रवर्द्धनका लागि कञ्चनपुरको कुण्डा सव डिभिजन वन कार्यालय पचकडियाले यो वर्ष ८५ हजार बिरुवा नि:शुल्क वितरण गरिरहेको छ । डिभिजन वन कार्यालय कञ्चनपुर अन्तर्गत सञ्चालन गरिएको नि:शुल्क बिरुवा वितरण कार्यक्रम शनिबार औपचारिक रूपमा सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले गर्नुभयो । प्रमुख शर्माले बिरुवासँगै वृक्षारोपणको अनुगमन आवश्यक रहेको भन्दै वन कार्यालयलाई रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिन सुझाव दिनुभयो ।

डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक योजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । कुण्डा सव डिभिजन कार्यालय अन्तर्गत पचकडिया नर्सरीमा उत्पादन गरिएका गोल्ड मोहर, वीरेन्द्र फूल, राजवृक्ष, टिक, मसला, अमला, बकाइनो, अम्बा, कागती, जामुन, कपूर, सिसौ, निम, मोरिंगा लगायतका विभिन्न प्रजातिका बिरुवाहरू असार २८ गतेदेखि निःशुल्क रूपमा वितरण थालिएको हो ।

कार्यक्रममा प्रदेश वन निर्देशनालय धनगढीका महानिर्देशक हेमराज विष्टले वृक्षारोपणले वातावरणमा हरियाली ल्याउने र अक्सिजनको आपूर्तिमा टेवा पुग्ने बताउनु भयो । उहाँले उपस्थित नागरिकहरूलाई वृक्षारोपणको वैज्ञानिक तरिकाबारे जानकारीसमेत गराउनु भएको थियो । कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले वितरण प्रक्रियाबारे जानकारी दिँदै ५० वटा बिरुवा लिन नागरिकताको प्रतिलिपि, ५० देखि ५०० बिरुवा लिन जग्गाधनी प्रमाणपत्र र ५०० भन्दा बढी बिरुवाका लागि वडाको सिफारिस आवश्यक हुने बताउनु भयो । विद्यालय, सङ्घसंस्था, सार्वजनिक निकाय र कार्यालयहरूलाई बिरुवा लगाउने स्थान खुलाइएको आधिकारिक पत्रसहित आवेदन दिएपछि बिरुवा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचरी ठाकुर, पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी राना, निवर्तमान उपप्रमुख शारदा विष्ट, वडा अध्यक्षहरू, वन कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । वन कार्यालयले जनस्तरसम्म वृक्षारोपणको पहुँच पुर्याउने उद्देश्यसहित वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।