हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ साउन । तराई-मधेशमा वर्षा प्रशस्त हुने भए पनि पानीको अभाव झन् गहिरिँदो छ । वर्षात्को पानी बगेर जान्छ, हिउँदमा खेतबारी सुक्छ, इनार ह्याण्डपम्प सुक्दै छन् । यस्तो पृष्ठभूमिमा पानीको समस्या समाधानका लागि कञ्चनपुरका नागरिकहरू के सुझाव दिन्छन् ? ‘जनताको आवाज’ शृंखलाअन्तर्गत हामीले सोधेका थियौँ, “तराई मधेशको पानीको समस्या समाधानका लागि के गर्नुपर्ला ?” र, यहाँ छन् उनीहरूले दिएका केही महत्वपूर्ण उत्तरहरुः
“वर्षा धेरै पर्छ, तर त्यो पानी उपयोग नै हुँदैन । गाउँगाउँमा रेनवाटर हार्भेस्टिङ अनिवार्य गरे समाधान सुरु हुन्छ ।”
“इनार, कुवा, ह्याण्डपम्प सुक्दै छन् । भूगर्भीय पानीको अत्यधिक दोहन रोक्न नीति चाहियो ।”
“हिउँदमा खेत सुक्छ, धान खेती जोगाउन गाह्रो हुन्छ । पोखरी र सिँचाइ योजना तत्काल विस्तार गर्नुपर्छ ।”
“सहरमा पिउने पानी अभाव छ, गाउँमा सिँचाइको । सरकारले दीर्घकालीन जल नीति ल्याउनु पर्छ ।”
“भौगोलिक अध्ययन गरेर ठाउँ अनुसारको प्रविधि जडान गर्नुपर्छ, त्यहीँबाट समाधान हुन्छ ।”
“साना जलाशय, ताल र इनार संरक्षण नगरी समाधान सम्भव छैन । संरक्षणको अभियान चल्नुपर्छ ।”
“हातेमालोको अभावले योजना बिग्रन्छ । सरकार, पालिका र जनताको सहकार्य चाहिन्छ ।”
“खेतबारीमा सिँचाइ नहुँदा पलायन बढेको छ । ट्युवेल र ड्रिप सिँचाइ जस्ता प्रविधि ल्याउनु पर्छ ।”
“प्राकृतिक स्रोतको दोहन होस् वा बर्बादी । दुवै रोक्न युवा सचेतना आवश्यक छ । स्कुलदेखि शुरु गर्नुपर्छ ।”
“पानीमा राजनीति होइन, समाधान चाहियो । सरोकारवालाबीच समन्वय भएन भने समाधान सम्भव छैन ।”