हरिश्चन्द्र बाग, कञ्चनपुर । हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको शवलाई मङ्गलबार कञ्चनपुरस्थित महाकाली आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्तिम दाहसंस्कार गरिएको छ । दुई वर्षदेखि विपिन जीवित फर्किने आशामा प्रतीक्षा गरिरहेको जोशी परिवार आज भने धुवाँ भएर उड्दै गएको सपनासँगै रोइरहेको छ ।

दुई वर्षको प्रतीक्षापछि कञ्चनपुरका विपिन जोशीलाई सोमबार राति घरमा ल्याइयो । तर जीवित होइन, कफिनभित्र मृत अवस्थामा । हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिनु भएका नेपाली विद्यार्थी विपिनको पार्थिव शरीर सोमबार राति मात्रै कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा ल्याइएको हो ।

मंगलबार बिहान ०६ः५० बजे हामी कञ्चनपुरको भीमदत्त नगरपालिका ३ मालिकार्जुन टोलमा पुग्दा सन्नाटा छाएको थियो । विपिन जोशीको घरमा रुवाबासी नै थियो । फूलले सजाइएको कफिनमा लपेटिएको शव अनि विपिनको घर आक्रन्दनले भरिएको थियो । छिमेकीहरू हातमा तुलसीको हाँगा, अगरबत्ती र फूल माला लिएर जम्मा हुने क्रम बढ्दै गयो । एक्कैछिनमा टाढा टाढाका बस्तीबाट पनि मानिसहरू जम्मा हुने क्रम बढ्यो । घरमा शवयात्राको तयारी हुँदा बस्ती नै डाँको छोडेर रुँदै थियो ।

बिहान ८ बजे घरबाट सुरु भएको शवयात्रा जब महाकाली नदी किनारतर्फ बढ्दै गयो, महेन्द्रनगर बजार निस्तब्ध भयो । बाटोभरि उभिएका जनसागरका आँखा रसाएका थिए । शवयात्रामा सयौँ मलामीहरू, युवाहरूका हातमा विपिनको तस्बिर । बिहान ०९ः३० बजे महाकाली आर्यघाटमा पुगियो । महाकाली किनारको मूल सडक वरिपरि मोटरसाइकलको लाम । त्यहाँसम्म पुग्दा मलामीहरूको सङ्ख्या हजार भन्दा बढी भइसकेको थियो ।

अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससहित इजरायली प्रतिनिधि, पूर्व परराष्ट्र मन्त्री एनपी साउद, प्रदेशका पूर्व मन्त्री, सांसदहरू, प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिहरू सुरक्षाकर्मी, पत्रकारहरू पनि सहभागी हुनुभयो । मलामीको भीड थाम्न प्रहरीलाई हम्मे हम्मे भइरह्यो । सुरक्षाकर्मीको घेरामा शव राखेर दाहसंस्कार गरियो । विपिनको शवलाई राष्ट्रिय झण्डाले ढाकियो । बुवा महानन्द र आफन्तहरूले दागबत्ती दिनुभयो भने सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्दै राष्ट्रिय सम्मानका साथ विपिनको अन्तिम बिदाइ ग¥यो । महाकाली आर्यघाटमा विपिनको चिताको धुवाँ आकाशमा मिसिँदा, परिवार र शुभेच्छुकको आँखामा एकै पटक गर्व र असह्य पीडा झल्किएको थियो ।

देशका लाखौँ युवाजस्तै, विपिन पनि उज्यालो भविष्यको सपना लिएर विदेश पुग्नु भएको थियो । तर फर्किँदा, उहाँ कफिनमा कङ्गाल बनेर फर्किनु भयो । अनि उहाँको शव आफ्नै नगरमा धुवाँ भई उडेर हावामा मिसियो । अब विपिनको यात्रा अन्त्य भयो, तर उहाँको नाम र सपनाले हजारौँ युवाको मनमा प्रश्न उठाइरहेको छ विदेश पुग्ने सपना कति पटक यस्तै पीडामा बदलिन्छ ? विपिन जोशी देशको माटोमा सदासर्वदा अमर रहून् । अलबिदा विपिन...
