काठमाडौँ, १८ असोज । हाल देशभर बङ्गालको खाडीबाट आएको जल वाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसै गरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।