हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ मंसिर । युरोपियन युनियनको आर्थिक सहयोगमा सेभ द चिल्डेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत लालझाडी गाउँपालिकाका १३ वटा गैर नमुना विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुले एक दिवसीय नमुना विद्यालय भ्रमण गर्दै समावेशी शिक्षा प्रवर्द्धनका उत्कृष्ट अभ्यासहरू निरीक्षण गरेका छन् । श्री सरस्वती मा.वि (वडा ३), श्री भानु मा.वि (वडा २) र श्री जनचेतना मा.वि (वडा ४) मा गरिएको भ्रमणमा सहभागीहरूले विद्यालयहरूको ऐतिहासिक पृष्ठभूमी, भौगोलिक अवस्थिति, शैक्षिक अवस्था, शिक्षक दरबन्दी, भौतिक संरचना, सेवा क्षेत्र, पाँच वर्षे योजना २०८२ को अद्यावधिक, वार्षिक योजना निर्माणदेखि समग्र उपलब्धि स्तरसम्मको विस्तृत जानकारी ग्रहण गरेको बताइएको छ ।

कक्षाकोठाभित्र समावेशी शिक्षाका अभ्यासले पारेको प्रभाव ।।
नमुना विद्यालयका प्रधानाध्यापकहरूले परियोजनाले उपलब्ध गराएको कार्यगत सीमितता फारम, विद्यार्थीको भावनात्मक, संवेगात्मक, व्यवहारिक, घरेलु वातावरणदेखि अदृश्य समस्या तथा अपाङ्गता पहिचान गर्न मद्दत गर्ने उपकरण, कक्षाकोठा व्यवस्थापन र विविध सिकाइ आवश्यकताअनुसार शिक्षण सिकाइ सहजीकरणमा अत्यन्त प्रभावकारी भएको बताए । यही उपकरणका कारण २ देखि ४ वर्षका बालबालिका तथा ५ देखि १७ वर्षसम्मका विद्यार्थीको वास्तविक सिकाइ आवश्यकताको नक्सांकन सहज भएको र उपयुक्त शिक्षण अभ्यास लागू गर्न मद्दत मिलेको सहभागीहरूलाई जानकारी गराइयो ।

परियोजनाबाट भौतिक, शैक्षिक पूर्वाधारदेखि अपाङ्गता अभिमुखीकरण तालिमसम्म ।।
परियोजनाले नमुना विद्यालयहरूलाई कक्षागत पानी फिल्टर, बाल विकास र शिक्षक किट, १ देखि ५ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री, प्रारम्भिक बालकक्षामा कार्पेट तथा शिक्षण सामाग्री र विद्यालय किट प्रदान गरेको छ । यसैगरी IMIS तालिम मार्फत विद्यार्थीको कार्यगत सीमितता अभिलेखीकरण, अपाङ्गता पहिचान तथा अभिलेख प्रविष्टि सम्बन्धी सीप प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई प्रदान गरिएको छ ।

समावेशीतामा विद्यालयका उल्लेखनीय पहल ।।
- विद्यालयमा उजुरी पेटिका राखिँदै इन्चार्जमार्फत नियमित सुनुवाइ सुरु,
- लैंगिक सम्पर्क शिक्षक, गुनासो सुुनुवाइ समिति र बालिका/समावेशी शिक्षा सञ्जाल गठन,
- विद्यालय भर्ना अभियानअन्तर्गत र्याली, घरदैलो भेटघाट, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान,
- अभियानकै बलियो परिणाम अपाङ्गता भएका धेरै बालबालिकाको विद्यालय भर्ना,
- बालक्लब र सञ्जाललाई समावेशी शिक्षा मैत्री बनाउने निर्णय तथा भविष्यमा विद्यालय व्यवस्थापन समिति बैठकमा बालक्लब प्रतिनिधि सहभागी गराउने तयारी ।
बजेट सहयोग (र्याम्प, स्लोपदेखि शैक्षिक सामग्री मर्मतसम्म)
परियोजनाले प्रदान गरेको सीमित बजेटले विद्यालयमा र्याम्प एवं स्लोप, सीढीमा पहुँचमैत्री संरचना, धारा र कक्षाकोठा मर्मत, अत्यावश्यक पुस्तक खरिद जस्ता कार्य सम्पन्न भएको विद्यालय पक्षले जनाएको छ । निर्माण कार्यको प्राविधिक अनुगमनका लागि पालिकाले प्राविधिक टोलीसमेत खटाएको छ ।

नमुना विद्यालयलाई "रिसोर्स हब" का रूपमा विकास गरिँदै ।।
कार्यक्रममा शिक्षा अधिकृत ऋषिकेश जैरुले परियोजनाले हाल तीन विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गरिरहेको भए पनि २०२७ सम्म लालझाडीका सबै सामुदायिक विद्यालयलाई समावेशी तथा गुणस्तरीय शिक्षामा सक्षम बनाइने लक्ष्य रहेको बताए । उनका अनुसार नमुना विद्यालयलाई "रिसोर्स हब" का रूपमा विकास गरी अन्य गैर नमुना विद्यालयसँग निरन्तर अनुभव आदान प्रदान, सहजीकरण र सहयोग प्रवाह गरिँदै जानेछ । निकट भविष्यमा अपाङ्गता शिविर सञ्चालन गर्दै विद्यार्थीहरूको विस्तृत मूल्यांकन र आवश्यक सहयोगको मार्गचित्र बनाइने जानकारीसमेत उनले दिए ।