प्रकाश भट्ट, कञ्चनपुर, २७ मंसिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ नयाँबस्तीस्थित बन्द नदी किनारमा वर्षेनी दोहोरिँदै आएको बाढी र कटानको जोखिम न्यूनीकरण गर्न जैविक तटबन्ध निर्माण कार्य शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । बर्खायाममा नदी कटान, घरभित्र पानी पस्ने र स्थानीयवासी विस्थापित हुने अवस्था सिर्जना हुँदै आएको उक्त क्षेत्रमा प्रारम्भिक चरणमा २०० मिटर लामो तटबन्ध निर्माण थालिएको हो । तटबन्ध निर्माण नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले मर्सीकोर नेपालसँगको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत कृष्णपुर नगरपालिका र वडा नम्बर २ को वडा कार्यालयसँगको सहकार्यमा सुरु गरिएको हो ।

स्थानीय निलम कार्कीले विगतका वर्षहरूमा बन्द नदीको बाढी घरभित्रै पसेर डुबान र कटानका कारण बसोबास नै असुरक्षित बनेको अनुभव सुनाइन् । उनले भनिन्, “वर्षात सुरु भएपछि घरभित्र पानी पस्ने, जग कटान हुने समस्या थियो । जैविक तटबन्ध बनेपछि अब केही राहत मिल्ने आशा पलाएको छ ।” बन्द नदी सामुदायिक विपद् व्यवस्थापन समिति नयाँबस्तीका अध्यक्ष शिव नेपालीले यस वर्षदेखि नदी नियन्त्रणका दिगो प्रयास सुरु भएको उल्लेख गर्दै जैविक तटबन्धले समुदायलाई दीर्घकालीन सुरक्षा दिने विश्वास व्यक्त गरे ।

कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुनसिंह साउदले नदी कटानकै कारण वर्षेनी थुप्रै परिवार जोखिममा बस्न बाध्य भएको बताए । “बर्खाको समयमा कतिपय परिवार विस्थापित हुनुपर्ने अवस्था आउँथ्यो । जैविक तटबन्ध निर्माणपछि अब समुदाय सुरक्षित हुने अपेक्षा गरेका छौँ,” उनले भने ।

यसैगरी मर्सीकोर नेपालका सुदूरपश्चिम प्रदेश संयोजक नवीनचन्द्र जोशीले जलवायु परिवर्तनका असर न्यूनीकरणमा यस्तो प्रकृतिमा आधारित समाधान प्रभावकारी हुने बताए । उनका अनुसार जैविक प्रविधिबाट निर्माण गरिने तटबन्ध वातावरणमैत्री, दीगो र लागत अनुकूल हुनुका साथै स्थानीय स्रोत र श्रमको अधिकतम प्रयोग हुने विशेषता राख्छ ।

समुदायका लागि जलवायु उत्थानशील परियोजनाका संयोजक महेश घिमिरेले तथ्यांक विश्लेषण र स्थलगत अध्ययनपछि नयाँबस्ती क्षेत्र जैविक तटबन्धका लागि अत्यावश्यक ठहर भएकाले काम अघि बढाइएको जानकारी दिए । “स्थानीय समुदायले जनश्रमदान गर्न तयार रहेको सक्रियता देखाएपछि परियोजना, वडा कार्यालय र समुदायको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो,” उनले भने ।
