धर्मराज कठायत, कञ्चनपुर, २७ मंसिर । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कञ्चनपुरको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट संघको नेतृत्व पुनः गजेन्द्र विक्रम थापाकै काँधमा परेको छ । शनिबार भएको अधिवेशनको बन्दसत्रबाट पुनः थापाकै अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कैलाश सुनार, उपाध्यक्षमा दिल्ली बहादुर शाही, सचिवमा मोहन सिंह रावल, सहसचिवमा रमेश कुमार महरा तथा कोषाध्यक्षमा हरिश पाण्डेय सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी संघको सदस्य पदमा वीरेन्द्र बहादुर ऐर, जीत बहादुर तामाङ, रमेश चुनारा, गगन बहादुर खड्का, नरेन्द्र राज भट्ट, रमेश बहादुर धामी, लक्ष्मण सिंह साउद, कर्ण बहादुर देउबा, तेज सिंह धामी, मान बहादुर धामी र जयन्ती थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नव निर्वाचित कार्यसमितिलाई अधिवेशनमा सहभागी व्यवसायी तथा सरोकारवालाहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ । नयाँ नेतृत्वले वन पैदावार उद्योगको प्रवर्द्धन, उद्यम विकास, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

संघको नेतृत्वमा पुनः निर्वाचित अध्यक्ष थापाले व्यवसायीका हकहित संरक्षण, नीतिगत सुधारका लागि पहल र वन पैदावार क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउन सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
