हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप २०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठान, काठमाडौँको मुख्य प्रायोजनमा अरनिको खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको औपचारिक उद्घाटन स्व. प्रकाश दाहालकी पत्नी तथा नेपाल सरकारकी पूर्व खानेपानी मन्त्री बिना मगरले गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले खेलकुद युवाको शारीरिक, मानसिक र नैतिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै समाजमा अनुशासन, एकता र सकारात्मक ऊर्जा फैलाउने बताउनुभयो । स्व. प्रकाश दाहालको स्मृतिमा निरन्तर आयोजना हुँदै आएको अरनिको सैनिक कपले युवालाई खेलमार्फत राष्ट्रप्रति जिम्मेवार बनाउने काम गरिरहेको उहाँको भनाइ थियो ।

उद्घाटन समारोहमा जिल्ला फुटबल संघ कञ्चनपुरका उपाध्यक्ष दाउत तामाङले खेलकुदको विकासमा पुनर्वासले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । जिल्ला फुटबल संघ कञ्चनपुरले यस्ता प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले खेलकुदले युवालाई कुलतबाट जोगाउने र सकारात्मक बाटोमा हिँडाउन सहयोग गर्ने बताउनुभयो ।

अरनिको खेलकुद विकास समितिका अध्यक्ष सूर्य तामाङका अनुसार प्रतियोगितामा विभिन्न ठाउँबाट आएका १५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता पुस २३ गतेसम्म सञ्चालन हुनेछ । उहाँले प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै भविष्यका सम्भावनाशील खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आज सम्पन्न खेलमा पुनर्वास ३ सेतोले वीरेन्द्र बाभ्रो क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको उत्तरार्धमा १४ नम्बर जर्सीका खेलाडी सुवास सिंह ठकुरीले निर्णायक गोल गर्दै पुनर्वास ३ सेतोलाई जित दिलाएका हुन् । खेलभरि दुवै टिमले आक्रामक प्रदर्शन गरे पनि अन्ततः पुनर्वास ३ सेतोले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिताअन्तर्गत भोलि मध्यान्ह १२ बजे अरनिको युवा क्लब (हरियो) र हिमाल फ्रेण्डसबीच प्रतिस्पर्धा हुने छ भने दिउँसो ३ बजे सिदार्थ युवा क्लब (रातो) र सिंहपाल बेलौरीबीच खेल हुने आयोजक समितिका सचिव जीवन तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले रु.२ लाख ६१ हजार र दोस्रो हुने टिमले रु. १ लाख २६ हजार पुरस्कार पाउने बताइएको छ । साथै अन्य विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिने छ ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, खेलाडी, प्रशिक्षक, प्रायोजक, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले प्रतियोगिता निष्पक्ष, अनुशासित र खेलभावनाअनुसार सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ । स्व. प्रकाश दाहालको स्मृतिमा आयोजना हुँदै आएको अरनिको सैनिक कपले पुनर्वास क्षेत्रलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्थानीयको विश्वास छ । प्रतियोगिताले खेलकुदमार्फत युवामा आत्मविश्वास, नेतृत्व र एकताको भावना विकास गर्ने अपेक्षा गरिएको छ ।