हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, ०३ माघ । कञ्चनपुरका वन क्षेत्र जैविक विविधता, वन्यजन्तु र मानव जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएको भन्दै संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा सबै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेकोमा जोड दिइएको छ । कुण्डा सबडिभिजन वन कार्यालय पच्कडियाले शनिबार आयोजना गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका नव आगन्तुक डिभिजनल वन अधिकृत लक्ष्मी राज जोशीको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले वन संरक्षण सरकारी जिम्मेवारी मात्र नभई स्थानीय सरकार, समुदाय, सुरक्षा निकाय र सञ्चारमाध्यमको साझा उत्तरदायित्व पनि भएको बताउनु भएको छ ।

पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले वन संरक्षण स्थानीय सरकार, वन कार्यालय र समुदायबीचको समन्वयबाट मात्र प्रभावकारी हुन सक्ने बताउनुभयो । उहाँले कञ्चनपुरका वन क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण रहेकाले संरक्षणसँगै स्थानीय नागरिकको जीविकोपार्जन र रोजगारीसँग पनि वनलाई जोड्नुपर्ने धारणा राख्नुभयो ।

डिभिजनल वन अधिकृत लक्ष्मी राज जोशीले कञ्चनपुरका वन क्षेत्र संरक्षण, व्यवस्थापन र दिगो उपयोग आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पार्नुभयो । वन विनाश, अवैध कटानी, अतिक्रमण र वन अपराधजस्ता चुनौतीहरू समाधान गर्न स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूह र सञ्चारमाध्यमसँग सहकार्य गरेर अघि बढ्ने उहाँको भनाइ छ ।। “वन संरक्षण सरकारी जिम्मेवारी मात्र होइन, यो साझा उत्तरदायित्व पनि हो,” उहाँले भन्नुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले कञ्चनपुरका वन र निकुञ्ज एकआपसमा जैविक रूपमा जोडिएका क्षेत्र भएकाले समन्वयमा काम गर्नु आवश्यक रहेको बताउनुभयो । वन कार्यालय र निकुञ्जबीच सहकार्य बढेमा वन्यजन्तु संरक्षण र मानव-वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणमा सकारात्मक परिणाम आउने उहाँको धारणा छ ।

कुण्डा सबडिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत दिनेश कुमार यादवले सबडिभिजन अन्तर्गतका वनहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे जानकारी गराउँदै कर्मचारी र वन उपभोक्ता समूहहरू समन्वयका साथ काम गर्न तयार रहेको बताउनुभयो । उहाँले सबडिभिजन वन कार्यालयले गरेका मुख्य मुख्य कार्यहरू, प्राप्त उपलब्धि र आगामी योजनाका विषयमा पनि प्रस्तुतीकरण गर्नुभयो ।

अन्तरक्रियामा कुण्डा सबडिभिजन वन कार्यालय मातहतका विभिन्न वनका पदाधिकारी तथा प्रतिनिधिहरूले वन संरक्षण, सामुदायिक वनको सुदृढीकरण, वन अपराध नियन्त्रण र स्थानीय सहभागितालाई अझ प्रभावकारी बनाउने विषयमा आआफ्ना धारणा राख्नुभयो । कार्यक्रमले कञ्चनपुरका वन क्षेत्र संरक्षण र व्यवस्थापनमा साझा बुझाइ र सहकार्यको आधार थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ ।