कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित श्री उग्रतारा बाल विद्यालयले एक दिवसीय ‘फुड फेस्टिभल २०८२’ कार्यक्रम गरेको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूलाई विभिन्न खानाका परिकार चिनाउने, पकाउने सीप विकास गराउने तथा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा रहेका चार वटा सदनका विद्यार्थीहरूले आआफ्नै छुट्टाछुट्टै स्टलमार्फत आफूहरूले तयार पारेका विभिन्न परिकार बिक्री गरेका थिए । विद्यार्थीहरूले बनाएका परिकारहरू विद्यार्थी, शिक्षक, अभिभावक तथा उपस्थित अतिथिहरूले किनेर स्वाद लिए ।

कार्यक्रमका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक ललित कार्कीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नाफा-नोक्सानको ज्ञान, लगानीको समझ, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सञ्चार सीपको विकासमा सहयोग पुऱ्याउँछ । फेस्टिभलमा विद्यार्थीहरूले परम्परागत नेपाली, नेवारी, थारु, कन्टिनेन्टल तथा चाइनिज लगायत विविध परिकार तयार पारेका थिए । कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक केशव सिंह बिष्टले जानकारी दिए । उनका अनुसार कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको हो ।

विद्यालयका संस्थापक गङ्गा प्रसाद रिजालले यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । अभिभावकहरूको प्रत्यक्ष सहभागिताले आपसी सम्बन्ध अझ प्रगाढ हुने उनले उल्लेख गरे । बेलौरी नगर खेलकुद समितिका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि रामेश्वर न्यौपानेले फुड फेस्टिभलले विद्यार्थीहरूको बहुआयामिक विकासमा टेवा पुऱ्याउने बताए । यसले सृजनशीलता, व्यवस्थापन क्षमता, आर्थिक ज्ञान तथा सञ्चार सीपको विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले विद्यालयमा फुड फेस्टिभल आयोजना गर्नु मनोरञ्जन मात्र नभई शैक्षिक, सामाजिक र व्यावहारिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । यसले विद्यार्थीहरूको ज्ञान, सीप र व्यक्तित्व विकासमा उल्लेखनीय योगदान पुऱ्याउने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रम नगर प्रमुख चौधरीले उद्घाटन गरेका थिए ।

