काठमाडौँ, ०५ चैत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने सम्भावना रहेको भन्दै आवश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार शुक्रबार (चैत ६) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
त्यस्तै शुक्रबारदेखि दाङ र नेपालगन्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाइएको छ । हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने प्राधिकरणले उल्लेख गरेको छ ।
हाल प्रि-मनसुनको समय भएकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ । पछिल्ला दिनमा हावाहुरीका घटनाबाट मानवीय क्षतिसमेत भएको जनाइएको छ । प्राधिकरणले जारी गरेको सूचनामा नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक नपरी यात्रा नगर्न, हावाहुरीका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न र आगोका स्रोतहरू नियन्त्रणमा राख्न सुझाव दिएको छ ।
साथै सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकेर बस्न, भीडभाडमा नआत्तिन र संयमित रूपमा सुरक्षित स्थानतर्फ जान पनि अनुरोध गरिएको छ । हावाहुरी चलिरहेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएको विद्युत् तार नछुन तथा विद्युतीय उपकरण प्रयोग नगर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।