हरिश्चन्द्र बाग, कैलाली । सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै नयाँ शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका १ स्थित एल.एन. चोकमा “खुसी सुदूरपश्चिम शैक्षिक परामर्श केन्द्र” सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । विदेश अध्ययनका लागि काठमाडौँ तथा अन्य ठूला सहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै सुदूरपश्चिममै अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै खुसी सुदूरपश्चिम शैक्षिक परामर्श केन्द्रका सञ्चालक कृष्ण कुमार रोकायाले सुदूरपश्चिमका विद्यार्थीले विदेश अध्ययनका लागि आवश्यक सूचना, प्रक्रिया र विश्वसनीय परामर्श सहज रूपमा पाउन नसक्दा विभिन्न समस्या भोग्दै आएको बताउनुभयो । उहाँले काठमाडौं केन्द्रित शैक्षिक परामर्श प्रणालीका कारण यहाँका विद्यार्थी आर्थिक, मानसिक र समयको हिसाबले थप मारमा पर्ने गरेको उल्लेख गर्दै अब आफ्नै प्रदेशबाट भरपर्दो, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गरिने बताउनुभयो ।
“विद्यार्थीले सामान्य परामर्शका लागि समेत काठमाडौं पुग्नुपर्ने अवस्था थियो । अब त्यो बाध्यता अन्त्य गर्दै सुदूरपश्चिममै बसेर अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” सञ्चालक रोकायाले भन्नुभयो । उहाँका अनुसार संस्थाले विदेश अध्ययनका लागि विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, भाषा तयारी, भिसा प्रक्रिया, आवश्यक कागजात व्यवस्थापन, करियर काउन्सिलिङ तथा विद्यार्थी अभिमुखीकरण लगायतका सेवा उपलब्ध गराउनेछ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्प कुँवरले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई सही मार्गदर्शन अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय विदेश अध्ययनको नाममा विद्यार्थी र अभिभावक विभिन्न भ्रम र गलत सूचनाको सिकार हुने गरेको उल्लेख गर्दै विश्वसनीय शैक्षिक परामर्श संस्थाको आवश्यकता बढ्दै गएको धारणा राख्नुभयो । “विद्यार्थीले आफ्नो भविष्यसँग जोडिएको निर्णय गर्दा सही सूचना र योग्य परामर्श पाउनु जरुरी छ । यस्ता संस्थाले विद्यार्थीलाई भ्रमबाट बचाउँदै उचित निर्णय लिन सहयोग पुर्याउने विश्वास लिएको छु,” उहाँले भन्नुभयो ।
कार्यक्रममा विभिन्न शैक्षिक क्षेत्रका व्यक्तित्व, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको उपस्थिति रहेको थियो । सहभागीहरूले सुदूरपश्चिममै गुणस्तरीय शैक्षिक परामर्श सेवा सुरु हुनु सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभएकाे छ । केन्द्रले हाल जापान अध्ययनका लागि अक्टोबर २०२६ सत्रको आवेदन खुला गरिसकेको जनाएको छ । संस्थाका अनुसार न्यूनतम २.० जिपिए प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । अध्ययनमा ग्याब भएका विद्यार्थीलाई समेत अवसर प्रदान गरिने उल्लेख गरिएको छ ।
जापान अध्ययनका लागि JLPT, NAT Test, JFT-Basic वा कम्तीमा १५० देखि २०० घण्टासम्मको जापानी भाषा अध्ययन गरेको प्रमाणपत्रलाई मान्यता दिइने संस्थाले जनाएको छ । सुदूरपश्चिमका धेरै विद्यार्थी उच्च शिक्षा र रोजगारीका अवसरका लागि विदेशिने क्रम बढिरहेका बेला स्थानीय स्तरमै गुणस्तरीय परामर्श सेवा उपलब्ध हुनु सकारात्मक मानिएको छ । यसले विद्यार्थीलाई सही सूचना, सुरक्षित प्रक्रिया र व्यवस्थित तयारीमार्फत अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । खुसी सुदूरपश्चिम शैक्षिक परामर्श केन्द्रले आगामी दिनमा जापानसहित अन्य देशका अध्ययन अवसरबारे पनि विद्यार्थीलाई मार्गदर्शन गर्ने योजना बनाएको जनाएको छ ।