हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ जेठ । विश्व वातावरण दिवस २०२६ को अवसरमा कञ्चनपुरको बेलौरीमा वृक्षारोपण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । "Inspired by Nature for Climate for Our Future" तथा "समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृति मैत्री विकास" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वातावरण संरक्षण, वन संवर्द्धन र जलवायु परिवर्तनका चुनौतीबारे सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । कुण्डा सब-डिभिजन वन कार्यालयको सहकार्य तथा WWF Nepal र Needs Nepal को आयोजनामा बेलौरी नगरपालिका वडा नं. ५ र ७ मा रहेको अमर स्मृति सामुदायिक वन उपभोक्ता समूह परिसरमा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्य, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरी, नागरिक समाजका प्रतिनिधि, स्थानीय अगुवा तथा वनकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कुण्डा सब-डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले वातावरण संरक्षण कुनै एक दिनको कार्यक्रम मात्र नभई दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी, बाढी तथा प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि वन संरक्षण र वृक्षारोपण अपरिहार्य रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, "हामीले आज रोपेको एउटा बिरुवा भविष्यका पुस्ताका लागि अमूल्य सम्पत्ति हो । प्रकृतिसँगको सन्तुलन कायम राख्न वन संरक्षण, जैविक विविधताको जगेर्ना र हरियाली विस्तारमा सबैको साझा दायित्व रहन्छ ।"

कार्यक्रममा सहभागीहरूले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका असर गाउँ समाजसम्म प्रत्यक्ष रूपमा देखिन थालेको उल्लेख गर्दै वातावरणमैत्री विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नु भएको थियो । उहाँहरूले वन क्षेत्रको संरक्षण, अवैध कटानी नियन्त्रण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा स्थानीय स्तरमा वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले वातावरण संरक्षणमा सुरक्षा निकायको पनि उत्तिकै जिम्मेवारी रहेको उल्लेख गर्दै हरियाली संरक्षण र प्राकृतिक स्रोतको दिगो उपयोगका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा निड्स नेपालका परियोजना संयोजक विनोद सिंह कडाराले वातावरणीय सन्तुलन कायम राख्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तह, सरकारी निकाय, सामुदायिक वन तथा नागरिक समाजबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रम अन्तर्गत जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए । आयोजकका अनुसार वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ । कार्यक्रमले विश्व वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक रूपमा प्रकृति संरक्षणको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ ।
