हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ असार । साथी आश्रय गृहको सेल्टर व्यवस्थापन समितिको बैठकले महिला हिंसा रोकथाम र स्थानीय समन्वय सुदृढीकरणमा ठोस निर्णय गरेकाे छ । गुनासो व्यवस्थापन संयोजक नारा देवी जोशीको अध्यक्षतामा भएको बैठकमा विभिन्न अधिकारकर्मी, महिला समूह, सामाजिक संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकमा विभेदमा आधारित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना (GBVPR-II) को कार्यान्वयन, स्थानीय तहसँगको समन्वय तथा सञ्जालका विविध गतिविधिबारे विस्तृत छलफल गरिएको हो । सहभागीहरूले समुदायस्तरमा महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि भइरहेका प्रयास तथा आगामी रणनीतिबारे आफ्ना धारणा राखेका थिए ।
परियोजनाको समीक्षा तथा प्रतिकार्य परियोजना (GBVPR-II) सम्बन्धमा छलफल गर्दा सामाजिक संस्था, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगको सहकार्यमा सञ्चालन गरिएको परियोजनाले महिला तथा बालबालिकालाई कानुनी परामर्श, मनोसामाजिक सेवा, स्वास्थ्य सेवा, सुरक्षित आश्रय, पुनःस्थापना र सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको जानकारी गराइएको थियो । परियोजनाको हालको अवधि २०८३ असार मसान्तसम्म रहेको र त्यसपछिको निरन्तरता सम्बन्धी विषयमा पनि छलफल भएको थियो ।
त्यसैगरी स्थानीय निकायहरूसँगको सम्बन्ध र समन्वयका विषयमा छलफल गर्दा सहभागीहरूले सञ्जालले विगतदेखि नै समुदायस्तरमा जनचेतनामूलक तथा मानव अधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै स्थानीय तह, उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थासँग सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । आर्थिक स्रोत व्यवस्थापन तथा संस्थागत दिगोपनाका लागि स्थानीय तहसँग समन्वय विस्तार गर्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।
बैठकमा सेल्टरमा रहेका सेवाग्राहीहरूलाई उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारी सदस्यहरूबाट चामल, तेल र दैनिक उपभोग्य सामग्री सहयोग प्राप्त भएकोमा संस्थाप्रति धन्यवाद ज्ञापन गरिएको थियो । त्यस्तै आगामी दिनमा महिला सशक्तीकरण, हिंसा न्यूनीकरण, समुदायस्तरीय सचेतना अभिवृद्धि तथा सरोकारवाला निकायसँग सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएकाे छ ।
बैठकको अन्त्यमा अध्यक्ष नारा देवी जोशीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै महिला अधिकार संरक्षण, लैङ्गिक समानता तथा हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । बैठकले विभिन्न निर्णयहरू पारित गर्दै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।