कञ्चनपुर । सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै Star Box अन्तर्गतको BV सामाजिक सञ्जालले कञ्चनपुर र कैलालीका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ । मंगलबार मात्रै पनि पुनर्वास नगरपालिका-२ स्थित अरनिको बस्तीमा रहेको श्री अरनिको आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई स्टेशनरी सामग्री, झोला, खानेपानी राख्ने बोतल तथा विद्यालयका लागि फुटबल र भलिबल हस्तान्तरण गरिएको बसन्त न्यौपानेले जानकारी दिनुभयो । प्राप्त सहयोगबाट विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विद्यालय प्रशासनले जनाएको छ ।


BV सामाजिक सञ्जालले यसअघि पनि पुनर्वास नगरपालिका-३ स्थित जनकल्याण माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई ट्र्याकसुट सेट, कोलगेट तथा साबुन वितरण गरेको थियो । त्यसैगरी पुनर्वास-४ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई स्टेशनरी सामग्री उपलब्ध गराइएको थियो । पुनर्वास-६ स्थित जीवन ज्योति माध्यमिक विद्यालयका ३० जना विद्यार्थीले स्टेशनरी सामग्रीसँगै साबुन र कोलगेट प्राप्त गरेका छन् । शिक्षा क्षेत्रसँगै सामाजिक सुरक्षामा समेत कार्यक्रमले विशेष प्राथमिकता दिएको देखिन्छ ।

पुनर्वास-४ का एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा ७८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग सामग्री वितरण गरिएको छ । साथै, सोही वडाको सुकुम्बासी बस्तीमा बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका ११ परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।

BV सामाजिक सञ्जालले लालझाडी गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ भने दोधाराचाँदनी नगरपालिका-२ स्थित कालिका आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई पनि स्टेशनरी सामग्री उपलब्ध गराइएको छ । यसबाहेक महेन्द्रनगरस्थित एक विद्यालयलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको जानकारी देवराज गिरीले दिनुभयो ।

मानवीय सेवाको दायरा कञ्चनपुरमा मात्र सीमित छैन । कैलालीको धनगढी स्थित मानव सेवा आश्रममा आश्रित आमा-बुबालाई तीन पटक भोजन गराउने कार्यक्रम सञ्चालन गरिएको छ । त्यसैगरी धनगढी तथा अत्तरियामा रहेको दृष्टि फाउन्डेसनलाई दुई पटक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।

BV सामाजिक सञ्जालले शिक्षा, स्वास्थ्य, पोषण र मानवीय सहायता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । “सहयोग सानो वा ठूलो होइन, आवश्यकताको समयमा गरिएको साथ नै सबैभन्दा ठूलो मानवीय सेवा हो,” भन्ने सन्देश कार्यक्रमले दिएको छ ।

स्थानीय स्तरमा यस्ता सामाजिक अभियानले विपन्न, असहाय र अवसरबाट वञ्चित समुदायमा नयाँ आशा जगाउनुका साथै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको लालबहादुर एसके बताउनु हुन्छ ।




