प्रकाश भट्ट, कञ्चनपुर, १६ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ खल्लागोठमा मछेली नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण कार्य गरिँदै छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र Mercy Corps नेपालको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील (सीआरसी)’ परियोजना अन्तर्गत कृष्णपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयको सहकार्यमा उक्त क्षेत्रमा १७० मिटर जैविक तटबन्ध निर्माण गरिन लागेको हो ।
जैविक तटबन्ध निर्माणसँगै उक्त क्षेत्रमा बगर संरक्षण कार्यलाई समेत तीव्र रूपमा अगाडि बढाइएको छ । परियोजनाले बगर संरक्षणका लागि डिभिजन वन कार्यालयसँग सहकार्य गरी प्रक्रिया अघि बढाएको हो । बगर संरक्षण कार्यक्रम अन्तर्गत १ हजार २५० मिटर तारबार गरिने भएको छ । जसअन्तर्गत डिभिजन वन कार्यालयले ९०० मिटर र सीआरसी परियोजनाले ३५० मिटर तारबार गर्नेछ ।

सीआरसी परियोजनाका संयोजक महेश घिमिरेले मछेली नदीको बाढी तथा कटानको उच्च जोखिममा रहेको खल्लागोठ क्षेत्रलाई सुरक्षित बनाउन र पर्यावरण संरक्षण गर्न जैविक तटबन्ध तथा बगर संरक्षणको काम अघि बढाइएको बताउनुभयो । उहाँले तारबार गरिएको बगर क्षेत्रमा नदी नियन्त्रणलाई थप दिगो बनाउन वृक्षारोपणसमेत गरिने जानकारी दिनुभयो । स्थानीय सरकार र डिभिजन वन कार्यालयलगायत सरोकारवाला निकायको समन्वयमा गरिने वृक्षारोपण तथा जैविक तटबन्ध निर्माणले दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

त्यसै गरी मछेली सामुदायिक विपद् व्यवस्थापन समितिकी उपाध्यक्ष चन्द्रा देवी देउवाले विगतका वर्षा याममा मछेली नदीमा आउने बाढीका कारण यस क्षेत्रमा डुबान र कटानको समस्या झेल्दै आउनुपरेको बताउनुभयो । उहाँले अहिले सुरु भएको जैविक तटबन्ध र तारबारको कामले स्थानीय समुदायमा सुरक्षाको आशा जगाएको उल्लेख गर्नुभयो ।

जनहित महाकाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुनाव बहादुर डङ्गौराले वन तथा नदी किनारको जमिन संरक्षणका लागि यो संयुक्त प्रयास फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जैविक तटबन्धले नदीको बहाव नियन्त्रण गर्न सहयोग गर्ने र तारबारले बगर क्षेत्रमा हुने क्षति कम गरी वृक्षारोपणलाई समेत प्रवर्धन गर्ने बताउनुभयो ।

स्थानीय युवा रोक बहादुर साउदले विपद्को उच्च जोखिममा रहेको आफ्नो गाउँमा समुदायकै सक्रियता र परियोजनाको प्राविधिक सहयोगमा तटबन्ध निर्माण हुनु स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले यस कार्यलाई प्रभावकारी र दिगो बनाउन स्थानीय बासिन्दा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

समग्रमा, मछेली नदीको कटानबाट वर्षौँदेखि जोखिममा रहेको खल्लागोठ क्षेत्रका लागि जैविक तटबन्ध र बगर संरक्षण कार्यक्रम आशाको नयाँ आधार बनेको छ । स्थानीय समुदाय, परियोजना र सरोकारवाला निकायबीचको सहकार्यले यो प्रयास सफल भएमा नदी कटान नियन्त्रणसँगै पर्यावरण संरक्षण र समुदायको दीर्घकालीन सुरक्षा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।