हरिश्चन्द्र बाग, कञ्चनपुर, २ साउन । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-४ मालिका टोलस्थित महाकाली नदीमा फसेका एक जनाको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका-६ लहरे टोल बस्ने ५२ वर्षीय उमेश चौलागाईं भ्रमणका लागि कञ्चनपुरको दोधारा चाँदनी पुगेका हुन् । शनिबार बिहान करिब ७ः३० बजे झोलुङ्गे पुलबाट करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा पौडी खेल्ने क्रममा फसेपछि गुहार माग्दा स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएको र तत्काल उद्धार टोली खटिएको बताइएको छ ।
खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर महराको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त पाँच जना सहित १० सदस्यीय उद्धार टोली र रबर बोटसहित घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामदत्त जोशीको कमाण्डमा पाँच सदस्यीय नेपाल प्रहरीको टोली पनि उद्धारमा खटिएको थियो । संयुक्त टोलीले बिहान ८ः१५ बजे चौलागाईंलाई सकुशल उद्धार गरी इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नं. ३५ गण शैलेश्वरी, कञ्चनपुरका गणपति प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।
चौलागाईंको घरपरिवारलाई समेत टेलिफोन सम्पर्क गरी जानकारी गराइएको र तत्काल कञ्चनपुर पुगेर उनलाई घरफिर्ता लैजान अनुरोध गरिएको छ । घरपरिवार सदस्य वा आफन्त कञ्चनपुर पुगेपछि उनीहरूकै जिम्मा लगाइने कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए ।
मनसुन सक्रिय भएसँगै महाकाली नदीमा पानीको बहाव र जोखिम बढ्दै गएकाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा उच्च सतर्कता अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ ।