हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङ्गलमा च्याउ टिप्न गएर सम्पर्कविहीन भएका सबै १७ जनाको सकुशल उद्धार गरिएको छ । दुई दिनसम्म चलेको खोजी तथा उद्धार अभियानपछि भीमदत्त नगरपालिका १९ बागफाँटा, वेदकोट नगरपालिका १० चतहरी र बेलडाँडी गाउँपालिका २ चवन्नीका सबैलाई सुरक्षित रूपमा जङ्गलबाट बाहिर निकालेर परिवारको जिम्मा लगाइएको छ ।
सोमबार मध्यान्ह बेलडाँडी गाउँपालिका २ चवन्नीका मञ्जु राना क्षेत्री, लक्ष्मी थापामगर र सीता चौधरीलाई सकुशल उद्धार गरिएको थियो । त्यसपछि दिउँसोतिर भीमदत्त नगरपालिका १९ बागफाँटा र वेदकोट नगरपालिका १० चतहरीका १४ जनालाई पनि उद्धार टोलीले फेला पारी सुरक्षित रूपमा परिवारको जिल्ला लगाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।
"सबै जना सुरक्षित अवस्थामा फेला परेका छन् । आवश्यक समन्वय र खोजीपछि उनीहरूलाई जङ्गलबाट बाहिर ल्याएर घर पठाइएको छ," उनले बताए ।
हराइरहेकाहरूको खोजीका लागि प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासन तथा स्थानीयवासी परिचालित भएका थिए । खोजीलाई प्रभावकारी बनाउन निकुञ्जमा रहेका ९ वटै पालुवा हात्ती परिचालन गरिएको थियो भने ड्रोनमार्फत हवाई निगरानी समेत गरिएको थियो । आइतबार बिहान च्याउ टिप्न गएका भीमदत्त नगरपालिका १९ बागफाँटा र वेदकोट नगरपालिका १० चतहरीका गरी १४ जना तथा बेलडाँडी गाउँपालिका २ चवन्नीका ३ जना गरी १७ जना महिलाहरू जङ्गलभित्र बाटो बिराएर सम्पर्कविहीन भएका थिए ।

उद्धार गरिएकी मञ्जु राना क्षेत्रीले जङ्गलभित्र बाटो बिराएपछि रातभर रुखमै बसेर रात काट्नुपरेको बताइन् । "च्याउ खोज्दै जाँदा थाहा नै नपाई धेरै भित्र पुग्यौँ । फर्किने बाटो भेटिएन । साँझ परेपछि हिँड्दा झन् जोखिम हुने देखेर सिमलको रुखमा चढेर रात बितायौँ । बिहान मोबाइलमा सिग्नल आएपछि घरमा फोन गर्न सफल भयौँ । त्यसपछि उद्धार टोली आएर हामीलाई सुरक्षित बाहिर निकाल्यो," उनले भनिन् ।
उद्धार गरिएकी लक्ष्मी थापामगरले रातभर जङ्गली जनावरको त्रासमै बस्नुपरेको सुनाइन् । "चारैतिर जनावरको आवाज सुनिन्थ्यो । धेरै डर लागेको थियो । हामी एक अर्कालाई हौसला दिँदै बिहानसम्म बस्यौँ । उद्धार टोली देखेपछि बल्ल ज्यान बाँच्ने आशा पलायो," उनले भनिन् ।
भीमदत्त नगरपालिका १९ बागफाँटाकी सबिता चौधरीले पनि जङ्गलभित्र बाटो छुटेपछि सबै जना एकै ठाउँमा बसेर उद्धारको प्रतीक्षा गरेको बताइन् । "हामी छुट्टाछुट्टै नहुने भनेर सँगै बस्यौँ । भोक भोकै रात बितायौँ । उज्यालो भएपछि फेरि घर खोज्न हिँड्यौँ । घर नजिक पुग्दा उद्धार टोली भेटिएपछि ढुक्क भयौँ," उनले भनिन् ।
उद्धार गरिएका १४ जनामा भीमदत्त नगरपालिका १९ बागफाँटा दशरथ टोल बस्ने ५७ वर्षीया सकनी चौधरी, ४५ वर्षीया सबिता चौधरी, ६० वर्षीया सानी चौधरी, ६० वर्षीया सकिया चौधरी, ५० वर्षीया रमा चौधरी, ३० वर्षीया लक्ष्मी चौधरी, २९ वर्षीया मनीषा चौधरी, २८ वर्षीया रिता चौधरी, ३० वर्षीया सुनिता चौधरी तथा वेदकोट नगरपालिका १० चतहरी बस्ने २८ वर्षीया विमला आग्री, ३० वर्षीया सुमित्रा सुनार, ३५ वर्षीया शान्ति सुनार, ३० वर्षीया प्रतीक्षा सुनार र ७० वर्षीया सिवानी सुनार रहेका छन् ।
उद्धार अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी, स्थानीयवासी, ड्रोन तथा निकुञ्जका ९ वटै पालुवा हात्ती परिचालन गरिएका थिए । प्रहरीले वर्षायाममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा घना जङ्गल क्षेत्रमा च्याउ वा अन्य वन पैदावार सङ्कलनका लागि नजान आग्रह गरेको छ । सामुदायिक बनमा जानै पर्ने भए आवश्यक सावधानी अपनाउन, समूहबाट नछुट्टिन तथा सम्बन्धित निकायलाई जानकारी गराएर मात्रै प्रवेश गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
