कञ्चनपुर । कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष अगस्ट १२ तारिखमा विश्वभर मनाइने दिवसको अवसरमा बुधबार कञ्चनपुरमा युवाहरूको सक्रियतामा बृहत् साइकल र्याली आयोजना गरिएको हो।
उत्थानशील युवा सञ्जाल, शिक्षा युथ क्लब, पावर अफ युथलगायतका युवा समूह तथा संस्थाहरूको सहभागितामा साइकल र्याली आयोजना गरिएको थियो। युवाहरूको सक्रिय सहभागिता र नेतृत्वमा आयोजित र्यालीले युवा सहभागिता, सामाजिक उत्तरदायित्व तथा स्वस्थ जीवनशैलीको सन्देश दिएको आयोजकले जनाएको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालद्वारा सञ्चालित सुदृढ परियोजनाको सहकार्यमा आयोजित र्यालीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहजीकरण गरेका थिए।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले युवाहरूलाई सामाजिक रूपान्तरण र विकासका गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। युवाको नेतृत्व र सहभागितालाई प्राथमिकता दिँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक बलेन्द्रनाथले युवा पुस्तालाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउन पनि साइकल र्यालीले महत्वपूर्ण सन्देश दिएको बताए। युवाहरूको सक्रियतामा आयोजना गरिएको यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
युवा दिवसका अवसरमा आयोजित र्यालीमा विभिन्न युवा समूह, संघसंस्था तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।