कञ्चनपुर। कञ्चनपुरमा विभिन्न कार्यक्रम गरी विश्व मानवीय सहायता दिवस मनाइएको छ। हरेक वर्ष अगस्ट १९ मा विश्वभर मनाइने दिवसको अवसरमा बुधबार दोधारा चाँदनी नगरपालिका–८ मा कविता प्रतियोगिता आयोजना गरिएको हो।
ट्वालट्वाले सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना तथा जनज्योति माध्यमिक विद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयका १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए। जसबाट झरना नेपाली प्रथम, शिखा खड्का द्वितीय र तनुजा थापा मगर तृतीय भएका छन्। त्यस्तै हिमानी थापा क्षेत्री र पुष्करी गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन्।
विजेताहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ट्वालट्वाले सामुदायिक विपद् व्यवस्थापन समितिले मानवीय सहायता सम्बन्धी नाटकसमेत प्रदर्शन गरेको थियो भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख गंगादेवी जोशीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख जोशीले विपद्का समयमा मानवीय सहायता तथा समुदायको सहयोगलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले विपद्का समयमा मानवीय सहायता तथा समुदायको तयारीलाई बलियो बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले विपद्का बेला उद्धार तथा राहतसँगै पूर्वतयारी र समुदायको क्षमता विकासमा समेत ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा वडा अध्यक्ष, सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय शिक्षक, विद्यार्थी तथा सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।