कैलाली । कैलालीको भजनी नगरपालिकामा सान परियोजनाको सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साझेदारी तथा द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित 'नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)' परियोजना अन्तगर्त सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो। कार्यक्रममा परियोजनाको समीक्षा, सिकाइ, हासिल भएका उपलब्धिहरू तथा आगामी रणनीतिका विषयमा गहन छलफल गरिनुका साथै सुझाव संकलन गरिएको थियो।
बैठकको उद्देश्य र परियोजनाका उपलब्धिबारे प्रकाश पार्दै सान परियोजनाका कार्यक्रम संयोजक देव राज बडुले परियोजनाको मुख्य उद्देश्य पालिका तथा समुदाय स्तरमा पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई प्रभावकारी बनाउनु रहेको बताउनुभयो। सरोकारवालाहरूसँगको निरन्तर समन्वयले परियोजनाका गतिविधिहरू सफलतापूर्वक अघि बढेको उल्लेख गर्दै उहाँले हासिल भएका उपलब्धिहरूको दिगोपना र स्थानीय स्वामित्व सुनिश्चित गर्नु नै समीक्षा बैठकको मुख्य ध्येय रहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले सान परियोजनाले भजनीमा उदाहरणीय काम गरेको भन्दै विपद् व्यवस्थापन र क्षमता अभिवृद्धिमा पुर्यापएको योगदानको प्रशंसा गर्नुभयो। विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड र स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तयार गर्न परियोजनाले सराहनीय भूमिका खेलेको उहाँको भनाइ थियो। उहाँले पालिकाको निर्णय प्रक्रियामा सहयोग, पूर्वसूचना प्रणालीको सुदृढीकरणका लागि राडार लेभल सेन्सर जडान, सामुदायिक प्रतिकार्य टोली तालिम र विद्यालयहरूलाई सुरक्षित आश्रयस्थलका रूपमा विकास गर्न गरिएको सहयोगले नगरको क्षमता बढाएको बताउनुभयो। साथै परियोजनाले अघी बढाएको नगद तथा भौचर सहायता प्रणालीले विपद्का समयमा समुदायलाई पूर्वानुमानका आधारमा पूर्वकार्य गर्न ठूलो मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, भजनी नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति विष्णु प्रसाद न्यौपानेले परियोजनाका गतिविधिहरूले गर्दा स्थानीय समुदायहरू उत्थानशील बन्दै गएको बताउनुभयो। भजनी भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहेको क्षेत्र भएकाले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो।
बैठकमा बहु-प्रकोप साइरन जडान तथा सञ्चालनका विषयमा समेत विस्तृत छलफल भएको थियो भने सहभागीहरूले परियोजनाले विपद् व्यवस्थापनका क्षेत्रमा अपनाएका पूर्वाभ्यास र प्रविधिमैत्री पहलहरूलाई सकारात्मक रूपमा लिँदै खुसी व्यक्त गरेका थिए।
भजनी नगरपालिकाको सभाहलमा आयोजित उक्त बैठकमा नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विषयगत शाखाका प्रमुखहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।