कञ्चनपुर । बालविवाह न्यूनीकरण तथा रोकथामका लागि दोधारा चाँदनी नगरपालिकामा पालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। Australian Aid को आर्थिक सहयोग तथा Plan International Nepal को साझेदारीमा सञ्चालित ‘Resilient Future: Ending Child Marriage’ परियोजनाअन्तर्गत आयोजित बैठकमा बालविवाहविरुद्ध भइरहेका प्रयास, समुदायस्तरमा सञ्चालन गरिएका गतिविधि तथा आगामी दिनमा गर्नुपर्ने पहलका विषयमा छलफल गरिएको थियो।

बैठकमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका शाखा प्रमुख, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधि, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा किशोरी क्लबका अध्यक्षलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनाले बालविवाह न्यूनीकरण तथा रोकथामका लागि समुदायस्तरमा प्रभावकारी काम गर्दै आएको बताएका थिए। परियोजनामार्फत सञ्चालन भइरहेका सचेतनामूलक, समुदायकेन्द्रित तथा किशोरी लक्षित गतिविधिले बालविवाहविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको उनीहरूको भनाइ थियो।

बालविवाह सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन असर पार्ने समस्या भएकाले यसको अन्त्यका लागि सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था, समुदाय, अभिभावक तथा किशोरी स्वयंको संयुक्त प्रयास आवश्यक रहेको सहभागीहरूले बताएका थिए। उनीहरूले बालविवाह रोकथामका लागि सञ्चालन भइरहेका कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तहको नीति तथा योजनासँग जोडेर थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, समुदायमा सचेतना विस्तारसँगै बालविवाहका जोखिममा रहेका बालबालिका तथा परिवारको पहिचान, परामर्श र आवश्यक संरक्षणमा समेत ध्यान दिनुपर्ने बताएका थिए।

बैठकले बालविवाहविरुद्धको अभियानलाई समुदायस्तरदेखि पालिकास्तरसम्म थप सशक्त बनाउँदै सरोकारवाला निकायबीचको समन्वयलाई निरन्तरता दिने आवश्यकता औँल्याएको परियोजनाका दमन चन्दको भनाइ छ।
