हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ पुस । कञ्चनपुरको बेलौरीमा जारी ‘तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ मा आइतबार नृत्य प्रतियोगिता समेत गराइएको छ । बेलौरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यार्थीहरूको सहभागितामा गराइएको नृत्य प्रतियोगितामा वात्सल्य विद्या निकेतन रिछाहाका विद्यार्थीहरूको समूहले प्रथम स्थान हासिल गरेको छ । उक्त नृत्य प्रतियोगितामा ब्राइटस्टार बोर्डिङ स्कुल शान्तिपुरका विद्यार्थीहरूको समूह द्वितीय भएको छ भने सरस्वती माध्यमिक विद्यालय बुटावारीका विद्यार्थीहरूको समूह तृतीय । प्रथम हुने विद्यालयलाई सात हजार, द्वितीय हुने विद्यालयलाई पाँच हजार र तृतीय हुने विद्यालयलाई तीन हजार रकम सहित ट्रफी प्रदान गरिएको छ । सहभागी सबै विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।
बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्ति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था पूर्व विद्यार्थी समाजले बेलौरीको खुलामञ्चमा यही पुस ११ गतेदेखि आयोजना गरेको महोत्सव यही पुस २० गतेसम्म जारी रहने महोत्सव आयोजक समितिले जनाएको छ । अनाथ तथा गरिब बालबालिकाको सहयोगार्थ आयोजित महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने गरेको छ । त्यस्तै महोत्सव स्थलमा विभिन्न व्यावसायिक स्टल, कृषि उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, बाल उद्यान र खाजा नास्ताका विभिन्न परिकारहरू समेत उपलब्ध छन् ।